हेटौंडा \ हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोग र नेपाल स्काउट, स्थानीय स्काउट कार्यालय हेटौंडा उपमहानगरपालिका समितिको आयोजनामा शुक्रबार देखी प्रथम हेटौंडा स्काउट क्याम्प-२०८० हुने भएको छ ।
स्थानीय पालिकामा स्काउटको माध्यमबाट पालिकाका यूवा तथा बालबालिकाहरुको सर्वाङ्गिण विकास गरी देश विकासमा अग्रसर असल नागरिक बनाउने उद्देश्यले आगामी जेठ २६ शुक्रबार देखि २८ गते सम्म (दुई रात तीन दिनको) स्काउट क्याम्प हुने संयोजक दीपेन्द्र रोक्काले बताए ।
क्याम्प हेटौंडा–१८ स्थित गोरक्षनाथ माविको प्राङ्गणमा हुनेछ । तीन दिनसम्म चल्ने स्काउट क्याम्पमा नगरभित्रका २५ भन्दा बढी सामुदायिक तथा संस्थागत विद्यालयहरुका चार सय भन्दा बढी स्काउट भाइबहिनीको सहभागिता रहने संयोजक रोक्काले बताए । क्याम्पका लागि जिल्लाका अन्य गाउँपालिकामा रहेका विद्यालयका स्काउटको समेत सहभागिता रहने जनाइएको छ ।
कार्यक्रममा स्काउटहरुले ओमेगा जम्प, सुपरम्यान जम्प,टायर क्रसिङ,मंकी ब्रिज क्रसिङ,कमान्डो ब्रीज क्रसिङ लगायत स्काउटिङ गतिविधिमा सहभागिता जनाउने छन् । क्याम्पमा निबन्ध प्रतियोगिता, नृत्य प्रतियोगिता, क्याम्प सजावट प्रतियोगिता रहनेछ । क्याम्पमा विद्यार्थीहरुलाई विपद् व्यवस्थापन तालिम, प्राथमिक उपचार तालिम, वातावरण संरक्षण सम्बन्धी तालिम समेत दिने व्यवस्था मिलाइएको छ ।
क्याम्प सञ्चालनका लागि १० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । जसमध्ये ८ लाख हेटौंडा उपमहानगरपालिकाले व्यहोर्ने छ भने बाँकी अन्य सहयोगी दाताहरुको सहयोग र हेटौंडा उपमहानगर समितिले व्यहोर्नेे संयोजक रोक्काले बताए ।