हेटौंडा \ बागमती प्रदेश युवा परिषद्ले बागमती प्रदेश युवा सम्मेलन २०८० गर्ने भएको छ । आगामी असार ११ र १२ गते प्रदेशको राजधानी हेटौंडामा प्रथम प्रदेश युवा सम्मेलनको आयोजना गर्ने भएको हो । सम्मेलनमा प्रदेशका १३ जिल्लाबाट समावेशी अवधारणा अनुसार युवाको सहभागिता रहने जनाइएको छ । सोमबार पत्रकार सम्मेलन गरी कार्यक्रम बारे जानकारी गराइएको थियो ।
कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री कुमारी मोक्तानले ४२ प्रतिशत हिस्सा ओगटेको युवापुस्तालाई विदेशीनबाट रोक्ने कार्यक्रम गर्नुपर्छ, राज्य र युवा बीचको दुरी घटाउने काम गर्न सम्मेलनको आयोजना गरिएको बताउनुभयो । काम गरेर नतिजा निकाल्ने स्तरका काम गर्नुपर्छ भन्दै मन्त्री मोक्तानले आशा गरे अनुरुप युवाहरुको सहभागिता नदेखिएकाले सम्मेलनको आयोजना गरिएको बताउनुभयो । यस सम्मेलनबाट प्रदेशका युवालाई बाटो देखाउने अवसरको रुपमा दिनुको साथै युवापुस्तालाई केही गरौं र अभिमुखीकरण गर्न, अभिप्रेरित गर्न, सकारात्मक कार्यप्रति आकर्षित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको बताउनुभयो ।
दुईदिन हुने सम्मेलनमा ५ वटा महत्वपूर्ण सत्रको आयोजना गरिनेछ । सम्मेलनमा कारखाना समूहका प्रमुख कार्यकारी अधिकृत पवित्र बहादुर गौतम, सूचना प्रविधिका विषयमा गिरिराज त्रिपाठी, युवा सहभागिताका विषयमा टेलिभिजन पत्रकार टिकाराम यात्री र विद्या चापागाईंसँगै लेखक तथा विश्लेषक केशव दाहालले अन्तरक्रिया गरिने प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले बताउनुभयो । सम्मेलनमा उद्यमशीलताका विषयमा डा. सुयश कार्की र पूर्वमिस नेपाल अनुष्का श्रेष्ठ, सामाजिक सञ्जालका विषयमा सन्तोष सिग्देल र उज्ज्वल आचार्य, राष्ट्र निर्माणमा युवाको भूमिका विषयमा माधव ढुंगेल, महेश दाहाल र सुरेन्द्र बस्नेतले प्रशिक्षण दिइने चौलागाईले बताउनुभयो ।
सम्मेलनमा १५० युवाको सहभागिता रहनेछ । सम्मेलनमा सहभागी हुने युवा २० देखि ३५ वर्षभन्दा कम उमेरका हुनेछन् । युवाको सहभागितालाई प्रभावकारी बनाउन हामीले जिल्लाको सामुदायिक क्याम्पसका उत्कृष्ट विद्यार्थी, आदिवासी जनजाति, दलित, सिमान्तकृत समुदायलाई प्राथमिकता दिई कम्तिमा २ जना युवा महिलालाई सहभागी हुनेछन् । जिल्लाबाट जिल्ला युवा समितिमार्फत नै ७५ जना सहभागी सिफारिस गर्नेछ, भने अनलाइनमार्फत सहभागिताका लागि ६० जना युवा सहभागी हुनेछन् । यस्तै सरोकारवाला निकायको सिफारिसमा १५ जना सहभागी हुने चौलागाईले बताउनुभयो ।