हेटौंडा \ बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षमा सामाजिक विकास मन्त्रालयका लागि ४ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाले शुक्रबार बसको प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्दै सरकारले आगामी आर्थिक वर्षमा सामाजिक विकास मन्त्रालयका अन्तर्गत विभिन्न कार्यक्रम अन्तर्गत ४ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको बताए ।
विद्यालय भवन निर्माण तथा घेराबार, प्रदेश विश्वविद्यालय स्थापना, मानित विश्वविद्यालयको स्थापना सम्भाव्यता अध्ययनका लागि ५ करोड रुपैयाँ विनियोजन गरिएको उनले बताए । खेलाडी उत्पादनका लागि खेलकुद पूर्वाधारको काम लाई अघि बढाउने, चितवनको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि ५ करोड रुपैयाँ विनियोजन गरिएको मन्त्री लामाले बताए ।
अपाङ्गता प्रदेशिक नीति जारी गरी प्रदेशका सबै संरचना अपाङ्ग मैत्री निर्माण गर्ने, सीमान्तकृत समुदायका लागि सिपमूलक तालिम सञ्चालन गर्ने, अभिभावक नभएका बाल बालिकाका लागि सामाजिक सुरक्षा कार्यक्रम अघि बढाउने उनले बताए ।
त्यस्तै, सरकारले आगामी आर्थिक वर्षमा स्वास्थ्य मन्त्रालयका लागि ४ अर्ब ७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले आगामी आर्थिक वर्षमा स्वास्थ्य मन्त्रालयका अन्तर्गत विभिन्न कार्यक्रम अन्तर्गत ४ अर्ब ७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताए ।
मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रमका लागि ६ करोड रुपैयाँ विनियोजन गरेको उनले बताए । प्रदेशका ३ वटा अस्पतालमा सिटी स्क्यान र मेमोग्राफी मेसिन वितरण गर्ने, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट स्नातकोत्तर तहको अध्यापनको सुरुवात गर्ने, प्रतिष्ठानका लागि १२ करोड ३२ लाख रुपैयाँ विनियोजन गरिने मन्त्री लामाले बताए । गर्भवती र सुत्केरी महिलाको उद्धारका लागि निःशुल्क हवाई सेवा उपलब्ध गराउने, एक विद्यालय एक नर्स कार्यक्रम +२ सम्म विस्तर गरी ३० करोड ५४ लाख रुपैयाँ विनियोग गरेको मन्त्री लामाले बताए ।