हेटौंडा \ बागमती प्रदेश सरकारले शुक्रबार चालु आर्थिक वर्षका लागि अनुमानित बजेट प्रस्तुत गरिएको छ । चालु आर्थिक वर्षमा बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादन रु. १९ खर्ब ८१ अर्ब ३३ करोड रहने र आर्थिक वृद्धिदर १.८ प्रतिशत हुने अनुमान बागमती प्रदेश सरकारले गरेको छ । शुक्रबार प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाले आव २०८०/८१ को वजेट प्रस्तुत गर्नुहुदैं मुलुकको कुल गार्हस्थ्य उत्पदानमा प्रदेशको योगदान ३६.८ प्रतिशत अनुमान रहेको बताउनुभयो ।
उहाँले प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सेवा क्षेत्रको योगदान सबैभन्दा बढी ७७.४ प्रतिशत रहेको बताउँदै कृषि र उद्योग क्षेत्रको योगदान क्रमशः ११.२ र ११.४ प्रतिशत रहेको बताउनुभयो । चालु आर्थिक वर्ष कुल विनियोजनको ७५.२८ प्रतिशत खर्च हुने अनुमान छ भने कुल विनियोजन मध्ये चालु खर्च तर्फ ८३.२९ प्रतिशत, पुजीँगत खर्च तर्फ ७२.१८ प्रतिशत र वित्तीय व्यवस्था तर्फ ३० प्रतिशत खर्च हुने संशोधित अनुमान गरिएको बताउनुभयो । चालु आर्थिक वर्षमा प्रदेश सरकारको राजस्व लक्ष्यको तुलनामा ६१.३ प्रतिशत संकलन हुने अनुमार प्रदेश सरकारको रहेको छ ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई तीन अर्ब ३८ करोड छुट्याएको छ भने, पर्यटन उद्योग तथा सहकारी मन्त्रालयको लागि दुई अर्ब १६ करोड बजेट विनियोजन गरेको छ । प्रदेशको वन तथा वातावरण मन्त्रालयका लागि तीन अर्ब ३ करोड, श्रम, रोजगार तथा यातायात मन्त्रालयलाई ७७ करोड ६ लाख, स्वास्थ्य मन्त्रलायलाई चार अर्ब ७ करोड रकम विनियोन गरिएको मन्त्री लामाले बताउनुभयो ।
सामाजिक विकास मन्त्रालयलाई चार अर्ब, भौतिक पूर्वाधार विकास मन्त्रालयलाई २१ अर्ब ६६ करोड, खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्रालयलाई सात अर्ब ४७ करोड, आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई ६१ करोड ७८ लाख, आर्थिक मामिला तथा योजना मन्त्रालयलाई १२ करोड ९४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
प्रदेशका मन्त्रालय सहित प्रदेश व्यवस्थापिका, प्रदेश लोक सेवा आयोग, मुख्य न्यायाधिवक्ताको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश नीति तथा योजना आयोग, वित्तीय व्यवस्था तथा शेयर लगानी, कर्मचारी सुविधा तथा सेवानिवृत्त सुविधा, अर्थ-विविध र स्थानीय तहका शीर्षकहरुको समेत गरी प्रदेश सरकारले ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । कुल विनियोजन मध्ये चालु तर्फ २६ अर्ब ७० करोड २७ लाख ६९ हजार, पुँजीगत तर्फ ३५ अर्ब ५० करोड ६३ लाख ९ हजार र वित्तीय व्यवस्था तर्फ ५० करोड विनियोजन गरिएको मन्त्री लामाले बताउनुभयो । कुल विनियोजन मध्ये चालु तर्फ ४२.५८ प्रतिशत, पुँजीगत तर्फ ५६.६३ प्रतिशत र वित्तीय व्यवस्था तर्फ ०.८ प्रतिशत रहेको बताउनुभयो ।
सरकारले आगामी वर्षको खर्च व्यर्होने स्रोत मध्ये कर राजस्वबाट २५ अर्ब १७ करोड २६ लाख, अन्य राजस्वबाट पाँच अर्ब २६ करोड ९४ लाख र संघीय वित्तीय हस्तान्तरणबाट १७ अर्ब ८१ करोड २३ लाख प्राप्त हुने अनुमान गरिएको छ ।