हेटौंडा \ जिल्ला प्रशासन कार्यालय मकवानपुरको संयोजनमा बुधबार हेटौंडाका विभिन्न स्थानहरुमा अनुगमन गर्दा विभिन्न पेशा व्यवसायीलाई जरिवाना सहित विक्रि वितरणमा रोक लगाएको छ ।
जिल्लामा रहेका विषयगत कार्यालय, हेटौडा उपमहानगर,मकवानपुर उद्योग वाणिज्य संघ,उपभोक्ता हितसंरक्षण मञ्च,नेपाल पत्रकार महासंघको सहभागितामा ५ वटा अनुगमन टोलीले हेटौंडाका विभिन्न फास्टफुड, अस्पताल तथा स्वास्थ्य संस्था, मोवाइल पसल, सुपरमार्केट, डेरी तथा मासु पसल, हार्डवेयर, फेन्सी, भेटेरिनरी पसल, चल्ला तथा दाना पसलहरुमा अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए ।
अनुगमनको क्रममा देखीएको त्रुटीहरु भेटिएकाले अनुगमन टोलीले आँगन स्वीट्स एंव फास्टफुडलाई वीस हजार, राजधानी स्वीट्सलाई वीस हजार, अल्फा डेन्टललाई पाँच हजार, इटिसी जनरल सप्लार्यसलाई पन्ध्र हजार, न्यू यु एण्ड आइ सु सेन्टरलाई दश हजार तत्काल जरिवाना गरिएको सहायक प्रजिअ गैह्रेले बताए ।
उनले अनुमति बिना सञ्चालन गरिएको एक वटा पोलिक्लिनिक, एकवटा भेटेरिनरी औषधि पसल र डेन्टल एकवटा गरी तीनवटा संस्थालाई बन्द गरिएको बताए । अनुगमन टोलीले अनुगमनको क्रममा संस्था तथा व्यवसायीलाई सचेत गराइनुका साथै विभिन्न निर्देशन दिइएको दिइएको थियो । दुई वटा अस्पतालले अनुमति भन्दा बढी क्षमताको बेड सञ्चालन गरेको पाइएकोले स्वीकृत भन्दा बढी क्षमताको अनुमति लिन निर्देशन दिइएको गैह्रेले बताए ।
होटल व्यवसायमा सरसफाई नभएको, अखाद्य तेल तथा अन्य वस्तुको प्रयोग, अस्वस्थ खानेपानीको प्रयोग जस्ता समस्या रहेकोले तत्काल सुधार गर्न सचेत गराइनुका साथै दर्ता तथा अनुमति नलिएका व्यवसायलाई १ हप्ताभित्र दर्ता तथा अनुमतिको प्रक्रिया पूरा गर्न निर्देशन दिइएको सहायक प्रजिअ गैह्रेले बताए । शिवशक्ति सप्लायर्स, हेटौडाको ११२ बोरा चामल अर्को आदेश नभएसम्मका लागि विक्री वितरणमा रोक लगाइएको समेत उनले जनाएका छन् ।