सिधाखबर \ लाल श्रेष्ठ गायन तथा संगीत क्षेत्रमा राष्ट्रिय स्तरमा निकै परिचित नाम हो । उनले सिर्जना गरेका गीत संगीतहरु कर्णप्रिय र लोकप्रिय रहेका छन । गुड्यो मोटर सुसाउदै, लेकैको योवन, म मरे मेरो लास जस्ता गीतहरु निकै चर्चित छन । विसं २०१८ साल माघ १ गते मकवानपुरको हेटौंडा –१० समिल रोडमा बुवा पुर्ण लाल श्रेष्ठ र आमा बेल कुमारी श्रेष्ठको कोखबाट जन्मिएका श्रेष्ठले गायन तथा संगीत क्षेत्रमा मकवानपुरको मात्र नभई सिंगो राष्ट्रको गरिमा राख्न सफल भएका छन् ।
बाल्यकाल देखी संगीत सिर्जना गर्नमा निकै जाँगरिला श्रेष्ठले संगीत सिर्जना गरेका गीत संगीत सुनेर हुर्केका हामी यहाँ धेरै छौं । माया प्रेम तथा देशभक्ति, परिवर्तनका गीत सिर्जना गर्नमा मात्र होइन गायन क्षेत्रमा पनि उनको उल्लेख्य योगदान रहेको छ । उनले सिर्जना गरेका गीत, संगीतबाट धेरै मकवानपुरे तथा देशका अन्य क्षेत्रका अहिलेका चर्चित गायक संगीतकारका रुपमा परिचित युवा पुस्ताहरु उनका चेला रहेका छन ।
करिब १० हजारको संख्यामा संगीतको धुन बनाएका उनले एक हजार भन्दा बढी नेपाली गीत संगीत सिर्जना गरेकाछन् । यतिमात्र होईन श्रेष्ठ पछिल्लो समय चलचित्र लेखनमा पनि निकै जाँगरिलो बनेकाछन् । कैयौं चेलाहरु संगीत क्षेत्रमा जन्माइ सकेका श्रेष्ठको संगीत, गायन क्षेत्रमा रहेको लगाव, मेहनत र लगनशीलता निकै लोभलाग्दो रहेको छ ।
चार दशकदेखी निरन्तर संगीत क्षेत्रमा लागि रहेका संगीतकार श्रेष्ठले सिधाखबरसँग कुराकानी गर्दै संगीतको संर्घष एक्लैलाई पुग्ने र परिवारलाई नपुग्ने बताएका छन् । संगीतबाट सामान्य जिविका मात्र भएको बताउने श्रेष्ठले सिर्जनशील मानिस सधै एक्लो हुने बताउछन् ।
संगीतमा लामो संर्घष गरेका उनले संगीतमा काम गर्न मज्जा आउने बताएका छन् । संगीतको लागि आफ्नो जीवनमा ऊर्जा थपिएको र संर्घषगर्दा गर्दै चार दशक बितेको पत्तो भएन, उनले भने ।
आफुलाई मन परेको विषय संगीत भएकोले यसबाट सन्तुष्ट रहेको उनले सुनाए । संगीतको संर्घष मज्जा रहेपनि भोग्दाचाहीँ गाह्रो बनेको उनले बताए । संगीत जीवनको चर्चा गर्ने चौतारी बनेको बताउदैं आफु प्रगतिशील गीत गाएर संगीतकार बनेको उनी सम्झन्छन् । जीवनको उर्जाशील समय संगीतमा खर्चेका कारण नेपाली गीत बाहेक उनले ६ सय जति हिन्दी गीतका धुन बनाएका समेत छन् ।
५० वटा हिन्दी गीत बोकेर मुम्बई पुगेका उनले मुम्बईमा आफ्नो कला बेच्ने अवसर मिलेन र उनी नेपालमै संगीत सिर्जनामा उत्तिकै सक्रिय छन् पछिल्लो समय श्रेष्ठ चलचित्र तथा पुस्तक लेखनमा सक्रिय छन् ।