हेटौंडा \ बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि क्षेत्रमा विपदबाट क्षति पुगेका कृषकहरुलाई राहत वितरण गर्ने भएको छ । मन्त्रालयले आर्थिक वर्ष २०७९/८० को वार्षिक स्वीकृत कार्यक्रम अनुसार आपतकालीन र आकस्मिक रोग र क्षति न्यूनिकरण कार्यक्रम अन्तर्गत कृषि क्षेत्रमा विपदबाट क्षति पुगेका कृषकहरुलाई राहत वितरण कार्यविधि, २०७९ बमोजिम राहत प्राप्त गर्न इच्छुक कृषकहरुवाट गत मंसिर महिनादेखीनै कागजात सहित आवेदन माग गरेको थियो ।
जसअनुसार आवेदन प्राप्त भएका ४० कृषकहरु मध्येबाट प्राप्त आठवटा कृषक फार्महरुलाई सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्री डा. राजेन्द्रमान श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले राहत प्रदान गर्ने निर्णय गरेको हो । बाँकी रहेका ३२ वटा आवेदनहरुको आवश्यक कागजात नपुगेकाले छानबिन अर्को बैठकमा निर्णय गरीने मन्त्रालयका वरिष्ठ कृषि प्रसार अधिकृत एंव प्रवक्ता झलकनाथ कंडेलले बताए ।
बैठकमा कृषि तथा पशुपन्छी क्षेत्रमा प्रतिकूल असर पार्ने प्राकृतिक र गैर प्राकृतिक विपदका नकरात्मक असर पुगेको कृषि पेशालाई पुर्नस्थापना गर्न र पिडित कृषक परिवारलाई राहत उपलब्ध गराउन विपदबाट पुगेको क्षतिबापत प्राप्त भएका आवेदनहरुबाट राहत प्रदान गर्ने निर्णय भएको प्रवक्ता कंडेलले बताएका छन् ।
सोमबार मन्त्रालयमा बसेको बैठकले काभ्रेका ८ वटा कृषि फार्महरु नोवेल कृषि फार्म धुलिखेल-६ लाई पाँच लाख सत्तरी हजार, हाम्रो माँझीफेदा पशुपालन तथा कृषि फार्म चौरीदेउराली-३ लाई ३६ हजार रुपैयाँ, दाजुभाई एकीकृत बहुउद्देश्य कृषि फार्म पनौती-९ लाई ३५ हजार रुपैयाँ, गैरीगाँउ कृषि तथा पशुपन्छी फार्म पनौती-५ लाईलाई आठ लाख बिस हजार,टिम भिजन एग्रिकल्चर फार्म पनौती-५ लाई दश लाख रुपैयाँ, श्रेष्ठ बंगुर फार्मलाई पनौती-१० लाई दश लाख रुपैयाँ, एसएस बंगुर माछा तथा कृषि फार्म बनेपा-७ लाई दश लाख रुपैयाँ र उभौली हाम्रो बंगुर फार्म पनौती-१० लाई दश लाख रुपैयाँ गरी मन्त्रालयले ५४ लाख ६१ हजार रहात प्रदान गर्ने निर्णय भएको प्रवक्ता कंडेलले बताए ।
मन्त्रालयले माग गरेको आवेदनमा काभ्रेसँगै चितवनबाट दश, ललितपुरबाट ६, सिन्धुपाल्चोक, दोलखा र धादिङ्गबाट दुई÷दुई, नुवाकोट, सिन्धुलीबाट एक/एक, मकवानपुरबाट आठ गरी ४० जनाको आवेदन परेको प्रवक्ता कंडेलले बताए ।