हेटौंडा \ मकवानपुरगढी गाउँपालिकामा निर्वाचित महिला जनप्रतिनिधिहरुलाई नेतृत्व तथा संस्थागत विकास तालिम प्रदान गरेको छ । गाउँपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा पाँच दिने तालिम प्रदान गरिएको हो । वार्षिक महिला लक्षित कार्यक्रम अन्तरगत महिला जनप्रतिनिधिलाई उक्त तालिम प्रदान गरिएको शाखाका प्रमुख मन्दिरा थापाले बताइन् ।
वडा नम्बर ३ का वडा अध्यक्ष भागवत घिमिरेको सभाध्यक्षता तथा पालिका उपाध्यक्ष मानकुमारी पाख्रीनको प्रमुख आतिथ्यतामा सोमबार तालिमको समापन गरिएको थियो । कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष आइत सिं लो, वडा ६ का वडा अध्यक्ष कृष्ण प्रसाद बजगाई, प्रशिक्षक शोभा शाह लगायतको आतिथ्यता रहेको थियो ।
महिला तथा बालबालिका क्षेत्रमा लामो समय कार्यरत हाल नेपालगञ्ज उपमहानगरका महिला तथा बालबालिका शाखा प्रमुख समेत रहेकी शोभा शाहले तालिमको प्रशिक्षण गरेकी थिइन् । उनले तालिममा नेतृत्व विकासका अनुयायित्व के हो, नेतृत्व विकासका साधक र बाधकहरु, सञ्चार, विवाद निरुपणमा सञ्चार, निणर्य कार्यमा सञ्चारको भूमिका, नेपाली महिलाको अवस्था र विश्लेषण, नेपाली महिलाको अवस्था र विश्लेषण जस्ता विषयमा तालिम प्रदान गरिएको थियो । साथै तालिममा घरेलु हिंसाका कारण र के हो भन्ने र निवारणका उपायहरु, घरेलु हिंसा कसुर तथा सजाय ऐन, २०६६, लिङ्ग र लैगिंकता के कसरी ?, समनता र समता, मानव बेचविखन तथा ओसारपसार ऐन, २०६४, मानव बेचविखन ओसारपसार हुने कारण, प्रकृति र निवारणका उपायहरु, सम्पन्नताका लागि समानता र प्रजनन स्वास्थ्य विषयमा समेत तालिम प्रदान गरिएको थियो ।
कार्यक्रममा सहभागी महिला जनप्रतिनिधहरुलाई प्रा.डा गोपाल शिवाकोटीले लेख्नुभएको संविधानको मुल पाठ, व्याख्यात्मक टिप्पणी र ऐतिहासिक विकासक्रम सहित भएको नेपालको संविधान नामक पुस्तक हस्तान्तरण गरिएको थियो ।