हेटौंडा \ विजय युथ क्लब हेटौडाको आयोजनामा मंगलबार देखी जिल्ला स्तरीय खुल्ला नकआउट विजय युथ गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो संस्करण सुरु भएको छ । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गीले गर्नु भएको थियो । उद्घाटनमा बोल्दै अध्यक्ष खड्गीले फुटबल खेलको विकासमा विजय युथ क्लबको अग्रसरता उल्लेख्य रहेको बताउनु भयो ।
राम्रो खेलाडी उत्पादनमा क्लबले गरेको गतिविधिबाट आफुहरुलाई समेत चलायमान बनाउन सिकाएको बताउनु भयो । कार्यक्रममा हेटौडा ५ का वडा अध्यक्ष सुशील घिमिरे, जिल्ला फुटबल संघका अध्यक्ष टिका लामा, हेटौंडा नगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाही लगाएतले खेलको सफलताको शुभकामना दिएका थिए ।
क्लबका अध्यक्ष सुदीप राजबहाकको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका सचिव राजेश भेटवालले स्वागत मन्तव्य राख्नु भएको थियो भने प्रमुख अतिथी खड्गीले रेफ्रीलाई बल हस्तान्तरण गर्दै खेलको उद्घाटन भएको थियो । प्रतियोगितामा आयोजकसहित १६ टिमको सहभागिता रहेको अध्यक्ष राजबहाकले बताउनु भयो ।
आगामी असार १५ गतेसम्म हेटौंडा ५ क्याम्पा रंगशालामा चल्ने प्रतियोगिताको उपाधि विजेता टोलीले नगद दुई लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेता टोलीले नगद १ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वेत्कृष्ट खेलाडीले ५ लाख बराबरको जीवन बीमा, नगद १० हजार रुपैयाँ प्राप्त गर्ने छन भने प्रतियोगिताको विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही नगद ५ हजार रुपैयाँ प्राप्त गर्ने अध्यक्ष राजबहाकले बताउनु भयो ।
प्रतियोगितामा १३ लाख खर्च हुने बताईएको छ । प्रतियोगितामा हेटौंडा फुटबल एकेडेमी, विजय युथ क्वब, हटिया भेट्रान्स क्लब, ढल्के जोवान एफसी, रिगल हेटौंडा रिसोर्ट मकवानपुर, नागस्वती एफसी, पदमपोखरी युनाइटेड, हर्नामाडी युथ क्लब, एफसी विजय युथ, अग्रसर युथ क्लब, समाजकल्याण एफसी, बागमती प्रदेश प्रहरी गण, चाइना पब्लिक युथ क्लब, चौकीटोल युथ क्लब, पशुपति युवा क्लव, हेटौंडा फुटबल एकेडेमी ए गरी १६ टिमको सहभागिता रहेको छ । मंगलबारको उद्घाटन खेलमा आयोजक एफसी विजय युथले बिजयी सुरुवात गरेको छ । अग्रसर युथ क्लबलाई तीन—दुईको अन्तरमा हराउदै विजय युथ विजयी भएको थियो । पहिलो संस्करणको उपाधि आयोजक टिम एफसी विजय युथ क्लबले हात पारेको थियो ।