बागमती \ मकवानपुरको बागमती गाउँपालिकाले निशुल्क शिक्षा घोषणा गरेको छ । २०८५ साल भित्र सरकारले अनिवार्य तथा निशुल्क शिक्षा घोषणा गर्ने अभियान अन्तर्गत बुधबार गाउँपालिकाको परिसरमा बृहत कार्यक्रमको बीच घोषणा सभालाई सम्बोधन गर्नुहुँदै बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले भौतिक तथा खेलकुद विकासमा बागमती गाउँपालिकाले फट्को मारे पनि शिक्षा क्षेत्रमा बामे सर्दै गरेको बताउनु भयो ।
उहाँले अब अनिवार्य तथा निशुल्क शिक्षाको घोषणा पछि नयाँ चरणमा पुग्ने विश्वास ब्यक्त गर्नुभयो। अहिलेको शिक्षा प्रणालीमा प्रश्न उठिरहेको बेला अनिवार्य शिक्षा प्रदान गर्न चुनौतिका बीचमा पनि कार्यक्रम सफल गर्न सकेको उहाँको भनाई छ।
यस्तै बागमती प्रदेशसभाका सदस्य प्रेमबहादुर पुलामी छिन्तुले कार्यक्रमको घोषणा भएपनि कार्यन्वयन गर्न चुनौतीहरुको चाङ हुने बताउनुभयो । यो पलिकामा विद्यालय बाहिर रहेको २ सय ५० जना बालबालिकालाई विद्यालयसम्म ल्याउने वातावरण तय गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनु भयो। यस्तै गाउँपालिका अध्यक्ष सर्केश घलानले अबको शिक्षा सीप र रोजगार संग जोडेर जनताको जीवन स्तर उकास्ने खालको योजना बन्ने बताउनु भएको छ। आम युवाहरूमा देखिएको नैरास्यता तथा वितृष्णालाई निर्मुल पार्न र विदेश जानूपर्छ भन्ने मनाशिकतालाई युवा पिडिले हटाउन नसके देश गम्भीर मोडमा पुग्ने उहाँले बताउनु भयो।
बागमती प्रदेश शिक्षा विकास निर्देशनालयका निमित्त निर्देशक पुर्णबहादुर दर्जीले गाउँ टोल सम्म शिक्षा विकासको अनिवार्य तथा निशुल्क शिक्षा पूर्ण रुपमा लागु गर्न चुनौती रहेता पनि खोजीनीति गरेर समस्याहरु समाधान गर्नुपर्नैमा जोड दिनुभयो । २०८५ साल भित्रमा अनिवार्य तथा निशुल्क शिक्षा पूर्ण कार्यन्वयन गर्ने सरकारको अभियान अनुसार बागमती प्रदेशको १ सय १९ स्थानीय तह मध्ये मकवानपुरको बागमती गाउँपालिका पहिलो गाउँपालिका भएको बताउनुभएको छ। यसभन्दा पहिले दोलखा जिल्लामा पूर्ण अनिवार्य तथा निशुल्क शिक्षा घोषणा भएको थियो।
कार्यक्रममा गाँउपालिकाको शिक्षा शाखा अधिकृत प्रमोदकुमार राईले अनिवार्य तथा निःशुल्क शिक्षा कार्यक्रम अन्तर्गत् अभिमुखीकरण, घरधुरी सर्वेक्षण, विद्यालय बाहिर रहेका बालबालिकाहरूको तथ्यांक संकलन,अभिभावक चेतना कार्यक्रम अन्तर्गत् वडाहरुमा सडक नाटक प्रदर्शन समेत गरिएको बताउनु भयो ।
यस गाउँपालिकामा ५० सामुदायिक विद्यालयमा ८ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । जसमध्ये पढाइ छाड्ने दर १० प्रतिशत र दोहोरिएर पढ्नेको दर ११ प्रतिशत रहेका छन् । बागमती गाउँपालिकाको शिक्षा तथा युवा खेलकुद शाखा संयोजक एवं ३ नम्बर वडा अध्यक्ष कमान सिं पाख्रिनको अध्यक्षतामा भएको घोषणा कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाई मकवानपुर प्रमुख दिनानाथ गौतम, गाउँपालिका उपाध्यक्ष फणिन्द्र तिमल्सिना, प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलान, नेपाली कांग्रेसका शंकर पराजुली, विद्यालय व्यवस्थापन समिति महासघ बागमती गाउँपालिका अध्यक्ष बच्चु गोले खड्का, शिक्षक महासघ बागमती अध्यक्ष बसन्त राई, शैक्षिक जागरण मंचका अध्यक्ष वीरबहादुर राई लगायतको आतिथ्यता रहेको थियो ।