हेटौंडा \ बागमती प्रदेश युवा परिषद्ले भोलि सोमबार र पर्सी मंगलबार प्रदेशको राजधानी हेटौंडाको मोटल एभोकाडोमा आयोजना गर्दै गर्ने प्रथम प्रदेश युवा सम्मेलन-२०८० को सम्पूर्ण तयारी पूरा भएको छ । आज परिषद्ले पत्रकार सम्मेलन गर्दै यसका बारेमा जानकारी गराएको हो । सम्मेलनमा प्रदेशका १३ जिल्लाबाट समावेशी अवधारणा अनुसार १ सय ५० युवाको सहभागिता रहने प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले जानकारी दिनुभयो ।
प्रदेशका १३ जिल्लाका जिल्ला युवा समितिमार्फत सिफारिस भई आएका ७५ जना र अनलाइनमार्फत आवेदन दिएका मध्ये ६० र १५ जना सरोकारवाला संघ संस्था र सरोकारवाला निकायको सिफारिसमा छनोट भएका छन् । सम्मेलनमा सहभागी हुने युवा छनोटका क्रममा ७२ जना पुरुष, ४१ जना महिला र ३ जना लैंगिक तथा यौनिक अल्पसंख्यक छनोट भएको र उनीहरु सहभागि हुने चौलागाईले बताउनुभयो । उहाँले भन्नुभयो–‘हामीले सहभागीको छनोटका क्रममा महिला, जनजाति, अल्पसंख्यक, सिमान्तकृत समूह, विद्यार्थी युवाको सहभागितालाई प्राथमिकतामा राखेर छनोट गरेका छौ ।’
युवा पुस्तालाई मुलुक र समाजप्रति जिम्मेवार बनाउन, नवप्रवर्तन, उद्यमशीलता र उच्च व्यक्तित्व विकास गर्न प्रेरित गर्ने उद्देश्यले युवा सम्मेलनको आयोजना गरिएको हो । प्रथम पटक आयोजना हुन लागेको सम्मेलनमा युवा पुस्तालाई अभिमुखीकरण गर्न, अभिप्रेरित गर्न, सकारात्मक कार्यप्रति आकर्षित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
सम्मेलनमा युवालाई अभिमुखीकरण र अभिप्रेरित गर्ने गरी ख्यातीप्राप्त व्यक्तित्व, सम्बन्धित क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तित्वलाई श्रोतव्यक्तिकोरुपमा सहभागी गराएको उहाँले बताउनुभयो । सहभागी युवाले आफ्ना अनुभव, अपेक्षा र योजना प्रस्तुत गरेर श्रोतव्यक्तिसंग अन्तरक्रिया गर्नेछन् ।
दुईदिन हुने सम्मेलनमा ५ वटा महत्वपूर्ण सत्रको आयोजना गरिनेछ । सम्मेलनमा नवप्रवर्तन र नवीनतम् साँचको विषयमा कारखाना समूहका प्रमुख कार्यकारी अधिकृत पवित्र बहादुर गौतमले युवासँग अन्तरक्रिया गर्नुहुनेछ । कारखाना समूह विद्यालय तहको गुणस्तरीय शिक्षाका लागि गैरसरकारी तवरबाट क्रियाशील संस्था हो ।सूचना प्रविधिका विषयमा गिरिराज त्रिपाठीले सम्मेलनमा सहभागी युवासँग अन्तरक्रिया गर्नुहुनेछ । त्रिपाठी युवा वैज्ञानिक कोषका सदस्य हुनुहुन्छ ।
सामाजिक र सार्वजनिक जीवनमा युवा सहभागिताका विषयमा टेलिभिजन पत्रकार टिकाराम यात्री र विद्या चापागाईंसँगै लेखक तथा विश्लेषक केशव दाहालले अन्तरक्रिया गर्नुहुनेछ । उद्यम एवम् व्यावसायिक सुरुवात र उद्यमशीलताका विषयमा डा सुयश कार्की र हेलमेट नेपालकी प्रार्थना सावले अन्तरक्रिया गर्नुहुनेछ । डा कार्की डाक्टर अनकल अनलाइनका सञ्चालक हुनुहुन्छ भने साख्व युवा उद्यमी हुनुहुन्छ । यस्तै सामाजिक सञ्जालका विषयमा सन्तोष सिग्देल र उज्ज्वल आचार्य, राष्ट्र निर्माणमा युवाको भूमिका विषयमा माधव ढुंगेल, महेश दाहाल र सुरेन्द्र बस्नेतले युवामाझ आआफ्ना प्रस्तुती र अन्तरक्रिया गर्नुहुनेछ ।