हेटौंडा \ कलेजो तथा मृर्गौला प्रत्यारोपण सर्जन एंव शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले हेटौंडा अस्पतालमा चाडैंनै मृर्गौला प्रत्यारोपणको सुरुवात गर्ने बताएका छन् । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा छिट्टै काम सुरु गरिने बताए ।
हेटौंडामा मंगलबार मस्तिष्क मृत्युपश्चात हुने अङ्गदान र प्रत्यारोपण विषयक अन्तरक्रियामा बोल्दै डा. श्रेष्ठले धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले देशका ठुला शहरहरुमा भएका अस्पतालमा अंगदान प्रत्यारोपण अभियानलाई व्यापकता दिइएको बताए । हामीले केन्द्रबाट स्थापना भएको १० वर्षमा एक हजार ७८ जनाको प्रत्यारोपण गरि सफलता मिलेको बताए ।
देशभरका विरामी मध्ये ७० प्रतिशत विरामीमा हाम्रो केन्द्रबाट प्रत्यारोपण गरिएको बताउँदै नेपालमा मृर्गौला दाताहरुमा सबैभन्दाबढी महिला रहेको बताए । मृर्गौला दान गर्नेमा महिला ७८ प्रतिशत र पुरुष २२ प्रतिशत रहेको डा. श्रेष्ठले बताए ।
कार्यक्रममा केन्द्रका डा. सुरेश महर्जनले नेपालमा वार्षिक तीन हजार मृर्गौला विरामी भेटिने गरेको पाइएको बताए । जसमा हामीले साढे तीन सयको प्रत्यारोपण गरेको बताउँदै उनले मरेको मान्छेसँग ८ वटा अंग प्रत्यारोपण गर्नसकिने बताए । उनले मुटु, फोक्सो, मृर्गौला, कलेजो लगायतका अंग प्रत्यारोपण गर्न सकिने बताए । तर नेपालमा मृर्गौला र कलेजोमात्रै प्रत्यारोपण सफल भइरहेको बताए ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेकी हेटौंडा उपमहानगरका प्रमुख मीना कुमारी लामाले हेटौंडा अस्पतालको सहकार्यमा डाईलोसीस कार्य गरिरहेको बताउँदै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा स्वास्थ्य क्षेत्रमा हेटौंडा उपमहानगरपालिका सदैव अग्रसर रहने बताइन् । उनले अंगदान गर्दा अर्को जुनीमा सोही अंग नआउने खालका जुन भ्रम हाम्रो समाजमा छ त्यसलाई चिर्न सके आँखा दान जस्तै सहज र सरल रुपमा शरिरका अंगदान गर्न सहजता रहने बताइन् ।
कार्यक्रममा हेटौंडा अस्पतालका निमित्त मेसु डा. रामचन्द्र सापकोटाले धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहकार्यमा चाडैंनै मृर्गौला प्रत्यारोपणको कार्य हेटौंडामा गरिने बताए । उनले अस्पताललाई पर्ने भौतिक संरचना, प्राविधिक पक्ष, दक्षजनशक्ति, आइसियु, ओटी लगायत आवश्यक पूर्वाधारहरु तयारी अवस्थामा रहेको बताएका थिए । अन्य अंगदान भन्दा आँखा दान बढी भएका पाइएकाले आँखादानको जस्तो प्रचार, जनचेतनामूलक कार्यक्रम गर्न अतिनै आवश्यक रहेको भन्दै उपत्यकामा मृत्यु पश्चात अंगदान सहजता रहेको र उपत्यका बाहिर केही कठिनाईहरु रहेको डा. सापकोटाले बताए ।
कार्यक्रममा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. विश्वराज जोशी, मकवानपुरका निमित्त प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा, स्वास्थ्य मन्त्रालयका दीपक प्रसाद तिवारी, सहकारी अस्पतालका अध्यक्ष विष्णु गोपाल महर्जन, मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरिक्षक बामदेव गौतम, लगायत हेटौंडा अस्पतालहरुका डाक्टर तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
हेल्थपाटी डटकमको आयोजनामा भएको कार्यक्रम शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहकार्यमा भएको थियो । कार्यक्रमबारे हेल्थपाटी डटकमका कार्यकारी प्रमुख जगन्नाथ ढकालले जानकारी गराएका थिए ।