हेटौडा / प्रथम बागमती प्रदेश युवा सम्मेलन मंगलबार सम्पन्न भएको छ । दुइ दिन सम्म बिभिन्न विषयमा छलफल तथा प्रशिक्षण भएको सम्मेलनले ११ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो । प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई घोषणापत्र हस्तान्तरण गर्दै युवाहरुका सुझाबलाई समेटेर तयार पारिएको घोषणापत्र लागू गर्न पनि प्रदेश सरकार समक्ष आग्रह गर्नुभयो ।
कार्यक्रममा बिभीन्न बिधाका उत्कृष्ट पाँच जनालाई २५ हजार रुपैयाँ नगद सहित पुरस्कृत गरिएको थियो । घोषण पत्रमा युवालाई आयआर्जनसँग जोड्न बागमती प्रदेशका १३ जिल्लाका १ सय १९ वटा पालिकाहरुमा सीप विकास तालिम केन्द्रहरुको स्थापना गरी रोजगारीका लागि युवालाई सक्षम बनाउन प्रदेश तथा संघीय सरकार समक्ष पैरवी गर्ने लगाएतका देशका शैक्षिक संस्थाहरुलाई उत्पादनसँग जोड्न र नागरिकमा उद्यम भावनाको बिजारोपण गर्ने लगाएतका रहेकाछन् ।
सम्मेलनमा बागमती प्रदेशका १३ जिल्लाका जिल्ला युवा समिति मार्फत सिफारिस भई आएका ७५ जना र अनलाइन मार्फत आवेदन दिएका मध्ये ६० जना र १५ जना सरोकारवाला संघ संस्था र सरोकारवाला निकायको सिफारिसमा छनोट भएकाहरुको सहभागीता रहेको थियो । सम्मेलनमा सहभागी हुने युवा छनोटका क्रममा ७२ जना पुरुष, ४१ जना महिला र ३ जना लैंगिक तथा यौनिक अल्पसंख्यक छनोट भएको र उनीहरुलाई सहभागिता गराईएको उपाध्यक्ष चौलागाईले बताउनुभयो ।
सम्मेलनमा नवप्रवर्तन र नवीनतम् सोचको विषयमा कारखाना समूहका प्रमुख कार्यकारी अधिकृत पवित्र बहादुर गौतम,सूचना प्रविधिका विषयमा गिरिराज त्रिपाठी,सामाजिक र सार्वजनिक जीवनमा युवा सहभागिताका विषयमा टेलिभिजन पत्रकार टिकाराम यात्री र विद्या चापागाइ, उद्यम एवम् व्यावसायिक सुरुवात र उद्यमशीलताका विषयमा डा सुयश कार्की र हेलमेट नेपालकी प्रार्थना सावले अन्तरक्रिया गर्न भएको थियो । यस्तै सामाजिक सञ्जालका विषयमा सन्तोष सिग्देल र उज्ज्वल आचार्य, राष्ट्र निर्माणमा युवाको भूमिका विषयमा माधव ढुंगेल, महेश दाहाल र सुरेन्द्र बस्नेतले युवामाझ आआफ्ना प्रस्तुती र अन्तरक्रिया गर्नु भएको थियो ।
११ बुँदे हेटौंडा घोषणापत्र यस्तो छ
१) युवालाई आयआर्जनसँग जोड्न बागमती प्रदेशका १३ जिल्लाका ११९ वटा पालिकाहरुमा सीप विकास तालिम केन्द्रहरुको स्थापना गरी रोजगारीका लागि युवालाई सक्षम बनाउन प्रदेश तथा संघीय सरकार समक्ष पैरवी गर्ने ।
२) युवाद्वारा उत्पादन गरिएका सामग्रीको बजार, उत्पादन, रोजगार, अन्य अवसर तथा युवासँग प्रत्यक्ष सरोकार राख्ने विषयहरुको जानकारी गराउने युवा बजारको अवधारणा विकास गरी कार्यान्वयन गर्ने ।
३) शैक्षिक कार्यक्रमहरु युवाको वृत्तिविकासमा प्रत्यक्ष परिवर्तन देखिने शैक्षिक पाठ्यक्रम निर्माण गर्न र इच्छा अनुसारको जीवनउपयोगी सीप सिकाउने र प्रत्यक्ष रुपमा आम्दानी हुने उमेर लक्षित सीप र काम भन्ने कार्यक्रमहरु निर्माण गर्ने ।
४) देशका शैक्षिक संस्थाहरुलाई उत्पादनसँग जोड्न र नागरिकमा उद्यम भावनाको बिजारोपण गर्ने उद्देश्यले बागमती प्रदेशका १३ जिल्लाका ११९ पालिकाहरुमा रहेका ७०३१ वटै सामुदायिक विद्यालयहरुमा एक शिक्षण संस्था एक उद्यम र उत्पादन को नाराका साथ कार्यक्रम सञ्चालन गर्न पहल गर्ने ।
५) प्रदेश युवा परिषद्ले सम्बन्धित मन्त्रालय मार्फत् जीवनउपयोगी सीप सिकाउने र प्रत्यक्ष रुपमा आम्दानी हुने उमेर लक्षित सीप र काम भन्ने नाराका साथ नीति तथा कार्यक्रम तर्जुमा गर्न पहल गर्ने ।
६) सहज र सहुलियत कर्जा, बजारको सुनिश्चितता र दिगो उद्यमशीलता तथा उत्पादनको निश्चितता हुने गरी सरकारले अवलम्बन गरेका नीति तथा कार्यक्रमहरुमा परिमार्जन गर्दै युवा लक्षित व्यापारमैत्री उत्पादन लाई जोड दिन जोखिम हुने उद्यममा व्यावसायिक सुरक्षाको जोखिम लिन सक्ने वातावरण तयार गर्न पहलकदमी लिने ।
७) देशप्रतिको सम्मानभाव प्रकट गर्दै असल जिम्मेवार नागरिकको भावना विकास गर्ने अभिप्रायले कक्षा ११ र १२ को औपचारिक अध्ययन पश्चात् हरेक युवालाई अनिवार्यरुपमा युवाको रुची तथा विषयगत क्षेत्रमा न्युनतम ३ महिना स्वयम्सेवकका रुपमा कार्य गर्ने अवधारणालाई अवलम्बन गर्न नीतिगत निर्णय गरी अगाडि बढ्न पहल गर्ने ।
८) सरकारको नीति, कार्यक्रम र योजना निर्माणको प्रक्रियामा युवाको सहभागिता र विकास परियोजनाहरुमा प्रत्यक्ष संलग्नता सुनिश्चित गर्न योजना प्रक्रियालाई युवामैत्री बनाउन जोड दिने ।
९) सूचना प्रविधिको प्रभावकारी प्रयोग र उपायोगिताको र सुरक्षित इन्टरनेट र सामाजिक सञ्जाल प्रयोगका लागि युवा परिषद्को अगुवाइमा प्रदेशका सबै जिल्लामा सूचना प्रविधिको समुचित र उपयोगी प्रयोग केन्द्रित अभियान सञ्चालन गर्ने ।
१०) युवाको नवीनतम सोच र प्रयोगका साथै आविष्कार गरिएका प्रविधि, उत्पादन र विशेष खालको खोज, अनुसन्धानहरुमा राज्यको सहयोग र प्रवद्र्धनमा साझेदारी भई कार्य गर्न जोड दिने । उद्यमशीलता तथा व्यवसायमा युवालाई प्रेरित गर्ने गरी कानुनी प्रक्रियालाई सरलीकृत गर्ने ।
११) जलवायु परिवर्तन र वातावरण प्रदूषण लगायतका समस्याहरुको विषयमा छलफल पैरवी गरी वातावरण संरक्षणमा युवा सहभागिता बढाई अन्तर्राष्ट्रिय अभ्यास अवलम्बन गर्ने ।