मनहरी \ मकवानपुरको मनहरी गाउँपालिकाका निर्वाचित जनप्रतिनिधि र सञ्चारकर्मीबीच अन्तरक्रिया भएको छ । विहीबार नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजना तथा गाउँपालिकाको सहकार्यमा सञ्चारकर्मीसँग अन्तरक्रिया गरिएको हो । महासंघका अध्यक्ष मणिराज गौतमको सभाध्यक्षता तथा गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष कालाखेतीले गाउँपालिका सदैव सञ्चारकर्मीहरु सँगको सहकार्य र समन्वयमा अघि बढ्ने बताएका छन् । उनले राज्यको अभिन्न अंगको रुपमा रहेको सञ्चारजगतलाई स्थानीय सरकारले साथमा लिएर पालिकाका कमीकमजोरी देखाउने र सुधार्दै लैजान पालिका अग्रसर रहने बताए ।
अन्तरक्रियाका क्रममा उठेका सञ्चारकर्मीहरुको सवालहरुको जवाफ दिदैं भनेः म यहाँ पालिकामा कमाउन आएको होइन, जनताको काम गर्न आएको हुँ । आफ्नो पालिकालाई सुशासनतर्फ लैजान्छु र भष्ट्राचारविहिन बनाउने प्रतिवद्धता समेत व्यक्त गर्दछु । उनले सबै पत्रकार एकै खालका छैनन् आफ्नो आफ्नो स्वभाव रहन्छ त्यस्तै कर्मचारीहरु पनि भिन्न स्वभावका रहेकाले कहिँकतै भष्ट्रमा लिप्त भेटिएको खण्डमा मलाई भन्नुस् म कारवाहीको लागि तयार रहेको बताए ।
त्यस्तै, कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन कुमार श्रेष्ठले चालु आवमा असार १० गते सम्म गाउँपालिकाबाट सम्पादन भएका विषयगत शाखाहरुको प्रगति विवरण प्रस्तुत गरेका थिए । उनले शिक्षा तर्फ विनियोजित बजेट खर्च ८० प्रतिशत भएको भन्दै योजना तर्फ २७४ वटा योजना मध्ये २५५ वटा सम्झौता भइसकेको बताए । पूर्वाधार शाखा तर्फ ठेक्कामा सञ्चालित योजनाहरु कतिपय सम्पन्न भइसकेको बताउँदै श्रेष्ठले भने खानेपानीका कामहरु तीव्रगतिमा भइरहेको बताए । वडातहमा हुने स्वास्थ्य ईकाइका भवनहरु निर्माणको अन्तिम चरणमा रहेका छन्, भने १५ शैयाको मनहरी अस्पताल संघीय सर्शत बजेट छ तर जग्गा प्राप्त नभएकाले कार्य रोकिएको बताए ।
स्वास्थ्य क्षेत्रमा ओपिडी सेवा विस्तार मनहरी अस्पतालमा गरिएको भन्दै श्रेष्ठले भने गर्भवती, विद्यालय छात्रा, जेष्ठ नागरिक लक्षित स्वास्थ्य कार्यक्रम, आँखा सम्बन्धी कार्यक्रम, सुत्केरी भेटघाट कार्यक्रमहरु गर्दै आइरहेको बताए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले आर्थिक प्रशासनतर्फ गाउँपालिकालाई हालसम्म ८३ प्रतिशत कुल आम्दानी भएको बताए । उनले ८३ करोड ३९ लाख ८६ हजार ३५२ रुपैयाँ आम्दानी भएको बताए । संघीय तर्फ ४३ करोड ६६ लाख २३ हजार ९५६ र प्रदेश तर्फ ९ करोड २८ लाख २१ हजार ९९१ रहनुका साथै आन्तरिक तर्फ ३० करोड ४५ लाख ४० हजार ४०४ रुपैयाँ रहेको बताए । उनले हालसम्म खर्च ५५.९२ प्रतिशत भएको बताएका छन् । चालुतर्फ ३१ करोड ९३ लाख ४६ हजार ३६ रुपैयाँ र पुजीँगत तर्फ २४ करोड ३४ लाख ६ट हजार ५१३ रुपैयाँ रहेको श्रेष्ठले बताए ।
उनले सामाजिक विकास शाखा अन्तरगत भएका विभिन्न बालबालिका तथा महिला लक्षित कार्यक्रमहरुको विवरण समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष अनन्त प्रकाश अर्याल, वडा नम्बर ९ का वडा अध्यक्ष राजकुमार श्रेष्ठले आफ्नो वडामा भएका विकास, सुशासन र विभिन्न विषयगत प्रगतिबारे जानकारी गराएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका उपाध्यक्ष रुपेश दुलाल, जिल्ला उपाध्यक्ष ध्रुव अधिकारीले आफ्नो भनाई राखेका थिए ।