हेटौंडा \ छैठौं राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा जिल्लाका विभिन्न स्थानहरुमा वृक्षारोपण गरिएको छ । दिवसको अवसरमा सव डिभिजन वन कार्यालय, हर्नामाडीको कार्यालय परिसरमा विभिन्न प्रकारका विरुवाहरुको वृक्षारोपण गरिएको छ । बागमती प्रदेश वन तथा वातावरण मन्त्री मसिना खड्काले सतिा अशोक विरुवाको वृक्षारोपण गरि कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो ।
रोपिएका विरुवाको संरक्षण गरि वातावरण सफा गर्न आग्रह गर्दै मन्त्री खड्काले वनको माध्यमबाट देशलाई समृद्धि बनाउन सकिने बताईन । वनको सहि सदुपयोग गर्न सके यसबाट मनग्गे आम्दानी हुने र यसले स्थानीय जनताहरुको समेत आर्थिक विकास गर्न सकिने मन्त्री खड्काले बताईन ।
कार्यक्रममा प्रदेश सचिव यज्ञराज दाहाल, डिभिजन वन कार्यालय, मकवानपुरका प्रमुख शिव सापकोटा, डिभिजन वन कार्यालय, राप्तीका प्रमुख विष्णु प्रसाद आचार्य, सव डिभिजन वन कार्यालय, हर्नामाडीकी प्रमुख सविना रिजाल, सहायक वन अधिकृत दीपक पुडासैनी, बसन्तराज गौतम, वनका कर्मचारी, स्थानीय लगायतको सहभागिता थियो । कार्यक्रममा सीता अशोक, धुपी, मेङगो स्टीक, अम्वा लगायतका विरुवाको बृक्षारोपण गरिएको थियो ।
यसैगरि दिवसकै अवसरमा सव डिभिजन वन कार्यालय, हेटौडाले पनि वृक्षारोपण गरेको छ । हेटौडा–१५ मा रहेको रातोमाटे सामुदायिक वन उपभोक्ता समूहको वनजङगलमा विभिन्न प्रकारको विरुवाको वृक्षारोपण गरिएको छ ।
कार्यक्रममा अमला, टाकी, सतिसाल, पारिजात,तेजपात, रिठा, गोलमोहर, कल्की फूल ,विरेन्द्रफूल, कपुर लगायतका विरुवाको वृक्षारोपण गरिएको सव डिभिजन वन कार्यालय, हेटौडाका फरेष्टर यदुकुमार घिमिरेले बताए । सव डिभिजन वन कार्यालय, हेटौडाका प्रमुख रामचन्द्र श्रेष्ठको प्रमुख आतिथ्यता एवम रातोमाटे सामुदायिक वनका अध्यक्ष ईश्वर पाख्रिनको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा वनका कर्मचारी, सामुदायिक वनका पदाधिकारी र उपभोक्ताहरुको उपस्थिति रहेको थियो ।