हेटौंडा \ नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले आयोजना गरेको खुला फिचर समाचार लेखन प्रतियोगितामा १२ पत्रकार पुरस्कृत भएका छन् । आइतबार एक कार्यक्रमकाबीच ती पत्रकारलाई पुरस्कृत गरिएको हो । महासंघको आयोजना र हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा भएको फिचर लेखनमा हेटौंडा उपमहानगरपालिका भित्रका शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, पर्यटन लगायत विकासका क्षेत्रमा भएका कामकारवाहीलाई फिचर समाचार बनाउनु पर्ने थियो ।
लेखनमा सर्बोत्कृष्ट महिला तर्फ सुनिता विष्ट, पुरुषतर्फ सुमन दाहाल भएका छन् । उनीहरुले जनही १५/१५ हजार नगद, प्रमाणपत्र र महासंघ अंकित झोला प्राप्त गरेका छन् । त्यस्तै उत्कृष्ट दशजनालाई पनि महासंघले जनही १० हजार प्रमाणपत्र र झोला प्रदान गरेको छ । उत्कृष्ट दशजनामा पत्रकार श्रीराम अर्जुन, अनिल पराजुली, निशा गुरुङ, सुजन ढकाल, खेम बोलखे, रविन ढुङ्गाना, प्रिया पौडेल, प्रतिक्षा न्यौपाने, जमुना थिङ, स्मीता अर्याल रहेका छन् ।
फिचर समाचार लेखनको निर्णायक भूमिका नेपाल पत्रकार महासंघ बागमती प्रदेशका पुर्व अध्यक्ष प्रताप विष्ट, उपाध्यक्ष नानीमैया कार्की(सम्झना) र प्रदेश सञ्चार रजिष्ट्रार रेवती प्रसाद सापकोटाले गरेका थिए । फिचर लेखनमा मकवानपुरका १७ जना पत्रकारहरुले सहभागिता जनाएका थिए ।
पुरस्कृत पत्रकारलाई हेटौंडा उपमहानगरका प्रमुख मीना कुमारी लामाले नगद प्रदान गरेकी थिइन् । महासंघका अध्यक्ष मणिराज गौतमको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख लामाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका पुर्व अध्यक्ष प्रताप विष्ट, उपाध्यक्ष रुपेश दुलाल, महासचिव कृष्ण सारु मगर, जिल्लाका निवर्तमान अध्यक्ष हरि हुमागाई, पूर्व अध्यक्ष राममणि दाहाल, विभिन्न पत्रकार संगठनका अध्यक्षहरुको आतिथ्यता रहेको थियो ।