मकवानपुरगढी \ मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर ४ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा हुनेमा मकवानपुर जिल्लाकै पहिलो गाउँपालिकाको वडा हो । आईतबार एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङतानले औपचारिक रूपमा पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरेका हुन् ।
अध्यक्ष स्याङतानले ४ नम्बर वडाको सहिद रुद्र स्मृती सामुदायिक स्वास्थ्य ईकाईलाई प्रमाणपत्र प्रदान गरेर पूर्ण संस्थागत सुत्केरी सुनिश्चित भएको वडा घोषणा गरेका हुन् । उनले अब आगामी वर्षहरुमा पनि अन्य वडाहरुलाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरेर सिङ्गो पालिकालाई नै संस्थागत सुत्केरी हुने पालिकाको रुपमा विकास गर्ने गरी अभियान चलाइरहने बताएका छन् ।
वडा भित्र गत आर्थिक वर्षमा ४० जना र चालु आर्थिक वर्षमा ३५ जनाले संस्थागत सुत्केरी भएको मकवानपुरगढी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धुव्र लामिछानेले जानकारी दिए । विगत पाचँ वर्ष देखिनै पूर्ण संस्थागत सुत्केरी वडा घोषणा कार्यको लागि आफुहरु लागि परेको यो कार्यले निरन्तरता र दीगोपन राख्नको लागि आफुहरु सक्रिय भईरहेको लामिछानेले बताए ।
बागमती प्रदेशकै पहिलो पूर्ण संस्थागत सुत्केरी वडा घोषणा मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ६ को बज्रबारही स्वास्थ्य चौकीलाई २०७६ साल साउन १७ गते घोषणा गरिएको थियो । साथै थाहा नगरपालिकको वडा ९ र १० लाई मिति २०८० बैशाख २७ गते, थाहा नगर पालिकाको २, ३, ४ नम्बर वडा लाई २०८० जेठ २२ गते र वडा नम्बर ११ र १२ लाई जेठ २८ गते घोषणा गरि सकिएको छ । यो सँगै हेटौडा उपमहानगरपालिकाको गत वर्ष ९ नम्बर वडा र यस वर्ष वडा नम्बर ६ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा भई सकेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
वडा नम्बर ४ का अध्यक्ष अर्जुन प्रसाद तिमल्सिनाको सभाअध्यतामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङतानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मान कुमारी पाख्रीन, जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख दीपक कुमार तिवारी, मकवानपुरगढी गाउँँपालिका प्रमुख प्रशासकीय अधिकृत शैलेन्द्र भण्डारी, रानी सामुदायिक वनका अध्य्क्ष विष्णु प्रसाद न्यौपाने, सृजनशील समाज साकोसका कृष्ण बहादुर विडारी, अपाङ्ग तथा विपन्न कृषि सहकारी संस्थाका अध्यक्ष मुस्कान लामा लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा ४ नम्बरका वडा सदस्यहरु, स्वास्थ्यकर्मीहरु, स्वास्थ्य स्वयंसेविकाहरु, स्थानीय वडाबासीहरु लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रममा वडा नम्बर ४ का स्वास्थ्य शाखाका कर्मचारी, स्वास्थ्य स्वयम् सेविकाहरुलाई सम्मान समेत गरिएको थियो ।