बागमती प्रदेशको बजेट बहुमतले पारित भएको छ । बागमती प्रदेशसभा बैठकमा बिहिबार बहुमतले बजेट पारित भएको हो । बैठकमा विभिन्न मन्त्रालयको बजेटमाथि परेको संशोधन बहुमतले अस्वीकृत भएको थियो । बैठकमा विनियोजन विधेयकमाथि सांसदहरूले धारणा राखेका थिए । उनीहरूको धारणाको अर्थ मन्त्री बहादुरसिं लामाले जवाफ दिनु भएको थियो । बैठकबाट प्रदेश सन्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्नेसम्बन्धी विधेयक र अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक बहुमतले पारित भएको थियो । आर्थिक मामिला तथा योजना मन्त्री लामाले असार १ गते आव २०८०/८१ का लागि कुल ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैयाँको बजेट सार्वजनिक गर्नु भएको थियो । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई तीन अर्ब ३८ करोड छुट्याएको थियो भने, पर्यटन उद्योग तथा सहकारी मन्त्रालयको लागि दुई अर्ब १६ करोड बजेट विनियोजन गरेको छ ।
प्रदेशको वन तथा वातावरण मन्त्रालयका लागि तीन अर्ब ३ करोड, श्रम, रोजगार तथा यातायात मन्त्रालयलाई ७७ करोड ६ लाख, स्वास्थ्य मन्त्रलायलाई चार अर्ब ७ करोड रकम विनियोन गरेको छ । सामाजिक विकास मन्त्रालयलाई चार अर्ब, भौतिक पूर्वाधार विकास मन्त्रालयलाई २१ अर्ब ६६ करोड, खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्रालयलाई सात अर्ब ४७ करोड, आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई ६१ करोड ७८ लाख, आर्थिक मामिला तथा योजना मन्त्रालयलाई १२ करोड ९४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । प्रदेशका मन्त्रालय सहित प्रदेश व्यवस्थापिका,प्रदेश लोक सेवा आयोग, मुख्य न्यायाधिवक्ताको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश नीति तथा योजना आयोग, वित्तीय व्यवस्था तथा शेयर लगानी, कर्मचारी सुविधा तथा सेवानिवृत्त सुविधा, अर्थ विविध र स्थानीय तहका शीर्षकहरुको समेत गरी प्रदेश सरकारले ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।
कुल विनियोजन मध्ये चालु तर्फ २६ अर्ब ७० करोड २७ लाख ६९ हजार, पुँजीगत तर्फ ३५ अर्ब ५० करोड ६३ लाख ९ हजार र वित्तीय व्यवस्था तर्फ ५० करोड विनियोजन गरिएको छ । कुल विनियोजन मध्ये चालु तर्फ ४२.५८ प्रतिशत, पुँजीगत तर्फ ५६.६३ प्रतिशत र वित्तीय व्यवस्था तर्फ ०.८ प्रतिशत रहेको छ । सरकारले आगामी वर्षको खर्च व्यर्होने स्रोत मध्ये कर राजस्वबाट २५ अर्ब १७ करोड २६ लाख, अन्य राजस्वबाट पाँच अर्ब २६ करोड ९४ लाख र संघीय वित्तीय हस्तान्तरणबाट १७ अर्ब ८१ करोड २३ लाख प्राप्त हुने समेत अनुमान गरेको छ ।