- राज कुमार केसी
थाहा \ थाहा नगरपालिकाको पर्यटन प्रवद्र्धनका लागि पालुङ–आग्रा मनसुन पदयात्रा उत्साहजनक रुपमा शनिबार भएको छ । पदयात्रामा काठमाडौंका ४० जना र थाहा नगरका २० जना समेत ६० जनाको सहभागिता रहेको थियो ।
खुल्ला आकास कतै कतै बादलका फुर्काहरु, तल देखने हरियाली फाँट र जंगल, जंगलमा चिरबिर चराचुरुङ्गीका आवाज, शितल मनोरम वातावरणमा पदयात्रा गर्दा निकै रमाईले अनुभव भएको पदयात्राको स्थानीय व्यवस्थापक तथा फोटो पत्रकार गणेश विष्टले बताए ।
ह्याप्पी हाईकर्स काठमाडौंका गोपाल पन्तले प्राकृतिक सौन्दर्य सहित यस पदमार्ग क्षेत्रका धार्मिक यात्रा गर्दा अत्यन्तै रमाईलो भएको बताए । उनले एक पटक पैदल यात्राको लागि यो मार्ग छुटाउनै नहुने बताए । करिब ४ घण्टाको पैदल यात्रामा प्राकृतिक सौन्दर्यतासँगको सामिप्यता, जैविक विविधताको अध्ययन, भौगोलक विविधताको अध्ययन, यहाँको सांस्कृतिक अध्ययन गर्नसकिने स्थानीय युवा माधव कार्कीले बताए ।
पदयात्रीहरुलाई थाहा नगरपालिका वडा नं ३ का अध्यक्ष हिरेन्द्रकुमार रायमाझीको स्वागत सहित रुपचन्द्र विष्टको शालिक स्थल विकास घर प्राङ्गणबाट सुरु भएको पदयात्रा थाहा ३ को गोरखनाथ धाम, पाण्डुकेश्वर मन्दिर, थाहा ३ मा रहेको भकारी ढुँगा, केशरी भञ्ज्याङ, थाहा ७ को मान्द्रो गुफा, उनिउ चौर हुँदै थाहा ७ डाडाबासमा पुगेर समापन भएको थियो ।
पदयात्रीहरुलाई गोरखनाथ धाम व्यवस्थापन समिति, थाहा नगरपालिका वडा नं २ कार्यालय, पाण्डुकेश्वर क्षेत्र विकास समिति, डाँडाघरे बाको होमस्टेमा खाना सहित, थाहा ७ को वडा कार्यालयले ढ्याङग्रो बाजा सहित उनिउ चौरमा र डाँडाबासमा हिमशिखर बचत तथा ऋण सहकारी संस्थाले विशेष स्वागत गरेका थिए । पदयात्राको लागि थाहा नगरपालिकाका युवा फोटो पत्रकार गणेश विष्ट, माधव कार्की, यादवजंग रायमाझी, केशर थिङ लगायतले समन्वय गरेका थिए ।