हेटौडा \ हेटौडा-६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले बागमती प्रदेश स्तरीय उत्कृष्ट सामुदायिक वन पुरस्कार प्राप्त गरेको छ । बागमती प्रदेश भित्र १३ वटा जिल्लामा रहेको सामुदायिक वन समूहहरु मध्ये उत्कृष्ट हुदै समूहले १ लाख पुरस्कार प्राप्त गरेको समूहका अध्यक्ष विष्णु प्रसाद न्यौपानेले बताए ।
बागमती प्रदेश वन निर्देशनालय, हेटौडाका सहायक वन अधिकृत गोविन्द अर्याल (अधिकृत आठौं ) को अध्यक्षतामा असार २१ गते बसेको बैठकले रानी सामुदायिक वनलाई उत्कृष्ट सामुदायिक वनको पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । वन समूहले वनको विकास, समूहको स्वीकृत विधान तथा कार्ययोजना बमोजिमका कामहरु सम्पन्न गरेको, संस्थागत विकास लगायतका कामहरु पारदर्शी ढंगबाट सम्पन्न गरेकाले पुरस्कार प्रदान गरेको वन निर्देशनालयले जनाएको छ ।
समयमै साधारणसभा, लेखापरीक्षण प्रतिवेदन, प्रगति प्रतिवेदन, आयआर्जन, पर्यापर्यटन, प्रचारप्रसार, आर्थिक प्रतिवेदन लगायतका कामहरु समेत समूहले व्यवस्थित किसिमबाट राख्ने गरेको समेत निर्देशनालयले जनाएको छ ।
यसअघि समूहले सर्वमान्य गणेशमान सिह वन संरक्षण पुरस्कार, वन संरक्षण युवा पुरस्कार, वनदेवी पुरस्कार र जिल्ला स्तरीय पुरस्कार प्राप्त गरिसकेको समूह उपाध्यक्ष केशव धितालले बताए ।