बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले सहकार्य समन्वय गर्दै डेंगु नियन्त्रणका लागि काम गरिने बताउनु भयो । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले मंगलबार आयोजना गरेको बागमती प्रदेशमा डेंगु रोगको विद्यमान अवस्था, रोकथाम, नियन्त्रण तथा पूर्वतयारी सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले मन्त्रालयका मातहतका निकाय, सहकारी संस्था, टोल विकास संस्था, आमा समूह, सुरक्षा निकाय, र स्थानीय तहसम्म परिचालन गरेर डेंगु नियन्त्रणको काम गरिने बताउनु भयो । प्रदेश सरकार मातहतका स्वास्थ्य संस्थाहरूलाई डेंगुका विरामीहरूका लागि सेवा प्रवाहमा गम्भीर भएर लाग्न निर्देशन दिदै मन्त्रि जोशीले डेंगु नियन्त्रण एवं उपचारमा कुनै कमी नहुने गरि तयारी गर्न निर्देशन दिंनु भएको छ ।
उहाँले नीजि अस्पतालहरूलाई पनि यसमा समन्वय गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा स्वास्थ्य निर्देशनालय हेटौंडाका निर्देशक महेश्वर श्रेष्ठले बागमती प्रदेशमा डेंगुको संक्रमण नियन्त्रणका लागि अभियान संचालन गर्न गरिरहेको बताए । उहाँले स्वास्थ्यकर्मीहरूलाई टोल तहसम्म परिचालन गर्न समन्वय गर्ने बताउनु भयो । स्वास्थ आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख वसन्त अधिकारीले प्रभावित जिल्लामा डेंगु परीक्षण कीट पठाइसकेको बताउनु भयो। प्रदेश सरकारमार्फत कीट र सिटामोल लगायतका सामग्री खरिदको प्रक्रिया अघि बढाउने समेत उहााले बताउनु भयो । हेटौंडा अस्पतालका मेसु डा. रामचन्द्र सापकोटाले अस्पतालले २ हजार ५ सय कीट खरिद गरेको र दैनिक २० देखि २५ वटा खपत भइरहेको बताउनु भयो ।
स्वास्थ्य कार्यालय मकवानपुरका निमित्त प्रमुख लक्ष्मण घिमिरेले मकवानपुरमा डेंगुका विरामी फेला पर्न शुरू भएको बताउँदै टेष्ट कीट, सिटामोल केही मौज्दात रहेको बताउनु भयो । उहाँले सचेतना अभिवृद्धि र रिपोर्टिङको लागि काम भइरहेको बताउँदै गत आवमा मकवानपुरमा हेटौंडा र मनहरीमा बढि डेंगुका विरामी फेला परेको बताउनु भयो । त्यस्तै, हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईंले सचेतना अभिवृद्धिको काम गरिरहेको बताउँदै ३ जना निरीक्षकको व्यवस्था गरी डेंगु फैलाउने लामखुट्टेको बासस्थानको अनुगमन गर्ने बताउनु भयो ।
निर्देशनालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक सतिश विष्टले बागमती प्रदेशमा डेंगुको अवस्था र नियन्त्रणका लागि भइरहेका प्रयासबारे अवगत गराउनु भएको थियो । मन्त्रालयका निमित्त सचिव दिपक तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्रालयका जनस्वास्थ्य प्रशासक दुर्गादत्त चापागाईं, मन्त्रालयका विभिन्न शाखाका प्रतिनिधि, स्वास्थ्यकर्मी लगायतको उपस्थिति रहेको थियो ।