हेटौंडा \ सरोज कुमार खनाल सामान्य परिवारका सदस्य हुन् । १६ जना परिवारको साथमा खुसी साटेर जीवननिर्वाह गरेका उनमा २५ वर्षको उमेरमा बज्रपात आईलाग्यो । उनले बाढीपहिरोबाट ११ जना परिवारका सदस्य गुमाउनु पर्ला भनेर कहिलै सोचेका थिएनन् । मकवानपुर जिल्लाको तत्कालीन पालुङ्ग गाविस ९ फेदीगाउँमा जम्बो परिवारका साथ बस्दै आएका खनाल त्यतीबेलाको परिवेशलाई सम्झदा भक्कानिन्छन् । फेदीगाँउमा ७ दिन सम्म पानी पर्दा पनि घुम ओडेर गोठालो जाने गरेका खनाल बाढीपहिरोले घर लगेको देख्दा यो अकल्पनीय रहेको बताउँछन् । बाढी पहिरो जाने कुनै सम्भावना नभएको उक्त ठाउँमा विनासकारी बाढीले कसरी आँखा गाड्यो कल्पना गर्न कठिन छ भन्नु हुन्छ खनाल । खेती किसानीबाट जिविकोपार्जन गर्ने उनको परिवार छिन्न भिन्न भयो भन्ने खबर सुन्दा अचम्म लाग्ने कथा ३० वर्ष देखी बोकी रहेकाछन् खनालले ।
कुरा २०५० को हो । साउन ४ गते खनाल आमाले पकाएको खाना खाएर पारीपट्टि रहेको शिखरकोट बजार हिड्छन् । ३ दिन देखी आईरहेको अविरल पानीको प्रवाह खासै कसैले गरेनन् । खनाल पनि छाता ओडेर सिखरकोट बजार लागे । त्यतीबेला पंचायती व्यवस्थाको अन्त्यपछि २०४७ को संविधान जारी भएसँगै २०४९ को निर्वाचनबाट पालुङ्ग गाविस बन्यो । राजनितिककर्मी रुपचन्द्र विष्टले निर्माण गरेको पालुङ्ग विकास समितिलाई पालुङ्ग गाविस र दामन गाविस मिलाएर संयुक्त आर्थिक विकास समिति चलाईएको थियो । यो समितिको संयोजक भएर काम गरेका खनाल यहि शीलशिलामा घरबाट निस्केका थिए । यो समितिको संयोजकको कामले खनाललाई विपत्तीबाट बचाउन सफल भएको उनको तर्क रहेको छ ।
तत्कालीन विकास घरमा बसेर काम गरीरहेका खनाल भित्री काम भन्दा पनि बाहिर पानीको वेग बढेका कारण मनमा डर लिईरहेका थिए । दिउँसो ४ बजेतिर यत्ति ठुलो पानी पर्यो कि खनालले आज सम्म त्यस्तो पानी परेको देखेका छैनन । ठुलो पानी परेका कारण खनाल घरजाने अवस्थामा पनि थिएनन् । उनले त्यो रात पानी परेको हेरेर भगवानसँग कुनै अकल्पनीय नहोस भन्दै रात काटिरहे । खनाल सँग भएको जीप कम्पनीको टर्चलाईट बाल्दा पानीको धारा लाईटबाट अगाडी नबढ्ने अवस्थामा थियो ।
चारैतिर मुसलधारे पानीको वेग भएपछि शारीरिक रुपमा र मानसिक रुपमा खनालमा चिन्ता बढ्नु स्वभाविक थियो । जब बिहान उज्यालो भयो तब उनले बाढीको प्रवाह नगरी आफनो घरतिर लागे । जब उनी घरमा पुगे न उनले न घर देखे न परिवारनै । उनको घर परिवार रातको ठुलो वेगमा आएको बाढीसंगै बगाईसकेको थियो । उनले एकैदिन ११ जना परिवार गुमाएको डर लाग्दो कथा सुनाउँदा हामी जसलाई पनि आङ्ग सिरिङ्ग हुनु स्वभाविक छ । यति ठुलो विपत्ती आईलाग्ला भनेर कल्पना नगरेका खनाल भयभित भए । रोए कराए तर के गर्नु दैवका अगाडी उनको केही लागेन ।
खनाल मधुरो स्वरमा भन्छन दैव र दशा एकैपटक लाग्यो । उनले एकै राती आफनो बा,आमा, श्रीमती, भाउजु, २ जना भाईहरु, २ जना दाईको छोरा भतिजाहरु, आफनो बच्चा ३ जना गरी ११ जना गुमाउनु पर्यो । जब बिहान घरमा खनाल पुगे परिवार पुरिएका थिए, गाईवस्तु केही पानीमा तैरीएको थिए भने धेरै पुरिएको अस्थामा थिए । खाद्यान्न नगद सँगै खनालको आफनो शरिरमा भएको एकसरो कपडा बाहेक केही बाँकी रहेनन् । उनी फेदीगाँउको ठुलो दुर्दशा भोग्ने व्यक्ती हुन पुगे ।
बाढीपहिरो कसरी आयो भन्ने प्रश्नमा खनाल पनि अच्चममा छन् । कुनै सोचनीय ठाउँछैन । यकिन गर्ने परिवेश छैन । अग्लो डाँडामा घर भएको र तल सानो २ खोल्सा थिए । यही खोल्सामा बगाएर ल्याएका उतिसका रुखका जराहरु अडकेर ड्याम बन्यो अनि यो फुटेर आउँदा घर बगाएको उनको अनुमान छ । तत्कालीन गाविस अध्यक्ष रामहरी विष्टका अनुसार पनि यही अनुमान छ । डाँडोको बीचमा भएको खोच भरिदै आएर फुटेपछि यसबाट निस्केको वेगले नै घर बगाएको अनुमान विष्टको पनि छ ।
जब यति ठुलो विपत्ती आयो खनालका भाई र दाई काठमाडौंमा दिदीहरु हेटौडामा र आफु पारी शिखरकोट रहेकाले बाँच्न सफल भएको उनको भनाई छ । त्यतीबेला ५ जना जिवित रहेका परिवार लाई सान्त्वना दिनेहरुको भीड समेत थिएन त्यहाँ किन भने गाँउनै रोईरहेको अवस्था थियो । सरकारले राहतको नाममा दिएको सामान्य दालचामलको भरमा उनले आफनो जिवित रहेको गोठमा कति रात कटाए भनौ जिविकोपार्जन चलाए । त्यतिबेला राहतको नाममा ७ हजार पाएका उनले यसकै भरमा परिवार डो¥याउनुपर्ने बाध्यता थियो ।
जीवनमा विपत्ति थाहा दिएर आउदैन् भन्ने मनशायलाई खनालले मनमा राखे मन बुझाए । तर के गर्नु त्यो ३० वर्ष देखीको आलो घाउ मनमा छदैछ । खनालले आफु बाढीपहिरोको पिडित भएकै कारण बाढीपहिरो पिडित कन्ट्रक्सन निर्माण सेवा दर्ता गरेर काम गर्न थालेको बताउँछन् । जे होस उनले अहिले आफुलाई सफल बनाउन ठुलो मिहेनत र संर्घष गरेको उनको भनाई छ । तर त्यो पिडाले अहिले पनि दाजुको अवस्था नाजुक रहेको उनको तर्क छ । भाईले पनि सामान्य जिविकोपार्जन गरीरहेको बताउदै खनाल भन्छन् बसोबास गरेको स्थान जोखिम छ भन्ने थाहा भइदिएको भए सायद परिवार सँग अझ धेरै खुसी साट्न पाइन्थ्यो । बाढी वा पहिरोबाट बच्ने उपायहरुको विषयमा आफुले थाहा पाएपनि बचाउन नसकिएको उनको भनाई छ । रेडियो नेपालबाट बज्ने सुचनाबाट उनले धेरै कुराहरु जानेका थिए तर के गर्नु त्यो लागुगर्ने अवस्था नै आएन ।
२०५० सालको बाढी वा पहिरोको प्रभाव अहिले पनि दाजुले र आफुले भोगीरहेको उनको भनाई छ । अहिले खनाल यातायात व्यवसायी भएकाछन् । बाढीपहिरोको ८ वर्षको पिडापछि नयाँ जीवन सुरु गरेका खनालको परिवारमा अहिले श्रीमती , छोरा र छोरीहरुछन् । हाल उनी हेटौडा उप महानगरपालिका वडा नम्बर ५ मा बस्छन् । २०५० सालको बाढी पहिरो प्रभावित खनाल आजभोली विगतलाई सम्झदैँ गाउँहरुमा आउने बाढीपहिरोका पिडितहरुका लागि सहयोग गर्न सबैभन्दा अगाडी आईलाग्छन । आफुले दुख भोगेपनि अरुले भोग्नु नपरोस भन्ने उनको भनाई छ ।
त्यस बेलाको सूचना संप्रेषणमा कमजोर भयो भनौ या संयन्त्रनै नभएका कारण परिवार गुमाएको खनालको भनाई छ । बाढी पहिरो सम्बन्धी सूचना पाएको भए सायद परिवार बच्न सक्ने उनको तर्क छ । सायद परिवेश त्यस्तै थियो सरकारी संयन्त्र त्यति सर्तक थिएन । संचारको विकाश थिएन । सूचना सम्प्रेषणमा कुनै संकेत थिएन यसैका कारण फेदीगाँउ डुबानमा पर्यो खनालको भनाई छ ।