हेटौंडा \ मकवानपुरको तत्कालीन आग्रा गाविस वडा नम्बर ८ निवासी डम्बर बहादुर रुम्बा सामान्य परिवारका सदस्य हुन् । घरबाट विद्यालय जाने क्रममा खोला तर्दा कापी किताब र चप्पल खोलाले बगाएपछि उनको स्कुल जाने चाहाना मरेर गयो । १३ वर्षको उमेरमा अध्ययनलाई विट मार्दै पैसा कमाउन डम्बर बहादुर काका टिकाको साथमा राजधानी काठमाडौं छिरेका थिए । गरीवीका कारण पढ्न लेख्न समस्या भएको बताउने डम्बर बहादुर तीन दिन पैदल यात्रा मार्फत राजधानी काठमाडौं पुगेका थिए । उनले राजधानीमा कलंकीको एउटा होटलमा भाडा माज्ने काम पाए । काम पाएपछि पैसा कमाएर परिवारलाई सुखी राख्छु भन्ने सोच पालेका डम्बर बहादुरको सपना त्यो दिन लुटियो जुन दिन गाँउमा भिषण पानी परेको थियो ।
कुरा २०५० साल साउन महिनाको हो । साउन ४ गते डम्बर बहादुर आफनो जीवनको कालो दिन सम्झन्छन् । आँखाभरी आशु पार्दै डम्बर बहादुर ग्वाँ ग्वाँ रुन्छन, भगवानलाई धिर्काछन् तर उनको बिलौना आँसुमै सिमित भैरहेको छ । डम्बर बहादुरको परिवारमा आमा,बुबा, एक दिदी, दुई भाई र एक बहिनी गरी ७ सदस्य रहेका थिए । उनको परिवारको मुख्य आयश्रोत कृषि पेशा खेती किसानीनै भएका कारण यसकै भरमा जिविकोपार्जन गर्नुपर्ने बाध्यता डम्बर बहादुरको परिवारमा थियो । गाउँमा बाढी पहिरो आएर विपत्ति ल्याउला र यसबाट बच्न चनाखो हुनुपर्छ भन्ने कुनै ज्ञान न त उनीमा थियो न त कसैले उनलाई बताएको थियो । बाढी पहिरो तथा जोखिमबाट बच्ने उपायहरुको विषयमा त्यो उमेरमा उनले कहिँकतैबाट सुन्ने अवसर नपाएको उनको भनाई छ ।
राजधानीमा काम गर्ने भएपछि करीब ८ महिना भएको थियो परिवार सँग डम्बर बहादुरको देखभेट नभएको । मकवानपुरको तत्कालीन आग्रा गाविस वडा नम्बर ८ को ठुलीचौर भन्ने ठाँउमा बसोबास गर्ने डम्बर बहादुरको गाउँमा बाढी पहिरो जाला, विपत्ति निम्तिएला भन्ने कुनै सोच्ने एकरत्ति पनि ठाउँ नभएको उनको तर्क रहेको छ किनभने डम्बर बहादुरको घर अलि अग्लो स्थानमा रहेको थियो ।
२०५० साल साउन ४ गते देशका विभिन्न स्थानमा भीषण बाढी पहिरो गयो । यो बाढी पहिरोको चपेटामा डम्बर बहादुर गाउँ अनि उनको परिवार पनि अछुतो रहन सकेन । आज सम्म पनि हर्कबहादुरको मनमा त्यो गहिरो चोट आह्लै छ । आफु राजधानीमा भएका कारण डम्बर बहादुर त्यो घट्नामा गाउँका केही व्यक्तीलाई उध्रित गरी गहभरी आँसु पारेर सुनाउँछन् ।
साउन १ गते देखी ४ गते राती सम्म लगातार गाउँमा पानी परिरहेको कारण पानीले भित्रभित्र गाउँ गलाई सकेको थियो । ठुलो पानीका कारण घरबाट कहि कतै निस्कन सकिने अवस्था गाउँमा थिएन । जताततै पानी भरिएका कारण निस्सासिने अवस्था थियो गाउँमा । कोहि कसैले उद्धार गर्न आउन सक्ने अवस्था पनि गाउँमा थिएन । साउन ४ गते राती त्यस्तै ३–४ बजे तिरको कुरा सुनेको भरमा सम्झदै डम्बर बहादुर भन्छन् अग्लो स्थानमा पानी जमेर डाँडोनै बगे पछि मेरो ६ जनाको परिवार यहि पानीको वेग सँगै पहिरोमा परे अनि मलाई एक्लो बनाएर गए ।
भगवान निष्ठुरी हुन भन्दै डम्बर बहादुर सुक्क सुक्क रुन्छन् के गर्नु विपदसँग कसको के लाग्छ र । अहिले डम्बर बहादुर गाउँमा आफु जस्तै अरुको पनि यस्तै पिडा रहेको बताउँदै आफुलाई मन बुझाउने कोशिस गर्दै छन् । ६ जनाको परिवार बाढीमा पुरिएसँगै डम्बर बहादुरको घरमा अन्नपातको त कुरै छाडौ घरमा रहेका ६ वटा खसी एउटा बोको पनि बाँकी रहेनन् र २१ रोपनी खेत पनि बाढीले पुरेर काम गर्न नसक्ने बनाई दियो । जुन अहिले पनि जस्ताको तस्तै रहेको छ ।
१०/२० हजार ऋण रहेपनि त्यतिबेला डम्बर बहादुरको परिवार हाँसी खुसीनै थियो । रातको समयमा परिवार सँग दिनभरको गाउँमा भएका परिवेशहरु साटासाट गर्ने गरेको र आमाले खाना पकाएर खुवाएको त्यो पल डम्बर बहादुरले कहिल्यै बिर्सेनन् । परिवारमा एक्लो भएपछि सबैले हेप्ने गरेको उनको दुखेसो छ । यस्तो विपत्तिमा पनि तेरो बाउको यत्ति ऋण छ भनेर माग्न आउनेहरुले पनि धेरै पटक डम्बर बहादुरको मन रुहाएको छ । धेरैको तिरे केहीको चै तिर्न सकिन भन्दै डम्बर बहादुर भन्छन् भरर्खर ४०/४२ वर्ष पुगे कमाएर तीर्छु ।
उनी काठमाडौं भएका कारण यस्तो विपत्तीले परिवारबाट टाढा बनाएकोे डम्बरबहादुरलाई थाहा भएन । त्यस्तै ४ दिनपछि गाउँबाट एकजना डम्बर बहादुरलाई लिन काठमाण्डौ पुगेपछि मात्र उनलाई गाउँमा पहिरो गएको थाहा भयो । धादिङको महादेववेशीमा आईपुग्दा आफुलाई परिवार बाढीमा पुरीएको खबर एकजनाले सुनाएपछि डम्बर बहादुर अब एक्लो के बाँच्नु भनेर पुलबाट हाम फाल्ने सोचमा थिए तर उनलाई कसैले बचाए । ४ दिनपछि गाउँ आईपुगेका डम्बर बहादुरले गाउँमा देखेको विभत्सलाई नियाल्न सकेनन् । आफुआई पुग्दा परिवारको लास निकाल्ने कार्य भएको र काजक्रिया गर्न मात्र भ्याइएको उनको भनाई छ ।
१३ वर्षको कलिलो उमेरमा टुहुरो बन्नु पर्दा डम्बर बहादुरले संसार अन्धकार देखे । परिवारको काजक्रिया गरेपछि डम्बरबहादुर कान्छो काकाको घरमा बस्न पुगे । यत्रो विपत्तिमा सरकारले १५ हजार रुपैया र केही खानेकुरा राहत स्वरुप पाएपनि कान्छो काकाको हातमा परेको राहत सहयोग उनले महशुस गर्न नपाएको डम्बर बहादुरको भनाई छ । एउटा भैसी पनि राहत स्वरुप पाएको बताउने उनी विपदमा खासै कसैले सहयोग गर्न, उद्धार गर्न नआएको उनको भनाई छ । काकाको घरमा जीवननिर्वाह गरीरहेका डम्बर बहादुरले ४ वर्ष पछि विवाह गरे । विवाहपछि आफ्नै परिवार सँग दैनिक ज्यालादारी गरी जिविकोपार्जन गरीरहेका डम्बर बहादुरको परिवारमा थोरै भएपनि खुसी छाएको छ । अहिले उनको परिवारमा ३ छोरी २ छोरा र श्रीमती सहित ७ जनाको परिवार छ । ज्याला मजदुरकै भरमा डम्बर बहादुरले परिवार पालिरहेकाछन् ।
२०५० सालको कहाली लाग्दो बाढी पहिरोको असर अहिले सम्म डम्बर बहादुरले भोग्न बाध्य छन् । पहिरोमा पुरीएको जग्गा जमिनमा काम गरेर खान सक्ने अवस्था छैन । परिवार गुमाएपछि यसकै शोकमा डुबेका उनी आजभोली पानी पर्न थाल्यो भने सर्तक रहन्छन् । अब त डम्बर बहादुरले धेरै कुराहरु बुझेकाछन् । विपद आउन सक्छ भनेर सर्तक रहन उनी चनाखो छन् । यसका लागी उनले छोरा छोरीलाई आफुले ज्यालादारी भएपनि पढाई रहेकाछन् । आफुले पढ्न नपाएको सम्झदै उनी भन्छनः मैले पढ्न नपाएपनि छोराछोरीले पढ्नु पर्छ उनीमा यो ज्ञान प्रशस्त छ । बाढी पहिरो तथा जोखिमपुर्ण केही आई लाग्यो भने गाँउमा अझपनि ओत लाग्ने भनौ या सुरक्षित आवास नभएको उनको भनाई छ । समयमै सुचना पाएको भए र उद्धार गर्ने व्यक्ती आईदिएको भए परिवार बाढीमा पुरिनु नपर्ने र आफु एक्लो हुनु नपर्ने उनको भनाई रहेको छ ।
गाउँमा आपत पर्दा सुचना लिने अभाव देखी धेरै समस्या रहेको उनको भनाई छ । भौगोलिक दृष्ट्रिले निकै विकट मानिने यो ठाउँ संघीयता आएपछि हाल थाहा नगरपालिका वडा नम्बर ८ मा पर्छ । नगरपालिका भएपनि अझ यसको महशुस यहाँका वडाबासीले गर्न पाएका छैनन । बाटो पुगेर मोटर पुगे पनि यो पर्याप्त नभएको डम्बर बहादुरको भनाई छ । गाउँमा सुचना सम्प्रेषणको अवस्था पनि कठिन रहेको उनको भनाई छ । डाँडाकाँडा भएकाले रेडियोको पहुँच पुग्न समस्या भएको यो नगरको वडा बत्ति मुनिको अध्यारो जस्तै छ भन्दा फरक पर्दैन ।
सच्याइएकोः डम्बर बहादुर रुम्बा हुनुपर्नेमा अन्यथा भएको छ । (सम्पादक)