हेटौंडा \ हेटौंडा बजार क्षेत्रको २५ मिटर सडक विस्तारको विषयमा विहीबार हेटौंडाका व्यवसायी संघहरुले संयुक्त रुपमा हेटौंडा उपमहानगरका प्रमुख मीना कुमारी लामालाई ज्ञापनपत्र बुझाएका छन् । सडक डिभिजन कार्यालयले ३५ दिने सुचना प्रकाशन गरे सँगै प्रभावित व्यवसायीहरुको ध्यानाकर्षण भएको भन्दै २५ मिटर सडक विस्तार हुँदा १ हजार ८ सय घरधुरी प्रभावित हुने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
पत्रमा प्रभावित व्यवसायी पाँच हजार जना, व्यवसायीहरुको अनुमानित १५ अर्ब लगानी क्षति, आश्रित मानिसहरु २५ हजार, १५ हजार जनाको स्वरोजगार वा रोजगारी गुम्ने अवस्था सिर्जना हुने उल्लेख गरिएको छ । कर्जा तिर्न नसक्ने अवस्थामा रहेका व्यवसायीहरु करिब २ हजार, बैंक तथा वित्तीय संस्थाको बजारमा अन्य लगानी करिब १५ अर्ब रहेको ज्ञापनपत्रमा उल्लेख रहेको छ ।
नगर प्रमुख लामालाई पत्र बुझाउँदै मकवानपुर फर्निचर व्यवसायी संघका अध्यक्ष कृष्ण अर्यालले सडकको हाल विद्यमान चौडाईलाई बढाएर विकल्प खोज्ने÷ वास्तविक लगत लिने, सडक विस्तार हुँदा व्यवसायीको उचित स्थानमा व्यवस्थापन तथा घरधनीलाई मुआब्जा दिनुपर्ने माग राखिएको बताए ।
हामीले पत्रमै उल्लेख गरेका छौं प्रभावित क्षेत्रको घरटहरा पुनः निर्माण पश्चात साविक व्यापार गरिरहेका व्यवसायीहरुलाई बिना धरौटी बिना झन्झट उपलब्ध हुने सुनिश्चिता गर्नुपर्ने छः अर्यालले बताए ।
पत्र बुझाउने क्रममा नगर उपप्रमुख राजेश बानियाँ, वडा ९ का वडा अध्यक्ष रामकृष्ण थापा, वडा १४ का अध्यक्ष दीपक खड्का, जुत्ता चप्पल व्यवसायी संघका अध्यक्ष रामहरि तिमल्सिना, मोवाईल एशोसिएसन अफ नेपाल मकवानपुरका अध्यक्ष नवराज चौलागाई, कपडा तथा तयारी पोशाक व्यवसायी संघका अध्यक्ष नेत्र प्रसाद खतिवडा, हेटौंडा ढुवानी एशोसिएसन अध्यक्ष प्रदीप अर्याल, ग्रील तथा स्टिल व्यवसायी संघका अध्यक्ष केशव प्रसाई, मकवानपुर भाडाँ व्यवसायी संघका महासचिव सञ्जय प्रसाद रौनियारल लगायतको उपस्थिती रहेको थियो ।