राक्सिराङ \ राक्सिराङ गाउँपालिकाको पर्यटकीय गन्तव्यको रुपमा रहेको जलपरी झरना तथा चमेरो गुफा वरपर निर्माण गरिएको विभिन्न पर्यटकीय पुर्वाधार हस्तारन्तरण गरिएको छ । सो क्षेत्रलाई मकवानपुर जिल्लाकै नमुना पर्यटकीय गन्तव्य बनाउने लक्ष्यसहित आवश्यक विभिन्न भौतिक संरचना निर्माण गरिएको हो ।
मनहरी बजारबाट आधा घण्टाको दुरीमा रहेको झरना तथा गुफा वरपर पिकनिक खानेहरुका लागि व्यवस्थित ट्रस्ट निर्माण गरिएको छ । विभिन्न औपचारिक अनौपचारिक कार्यक्रम, जमघट तथा अन्य गतिविधि समेत गर्न मिल्ने गरि ट्रस्ट निर्माण तथा चौर व्यवस्थापन गरिएको हो ।
प्रवेशद्धारमा टिकट काउन्टर, सुरक्षा गार्डरुम, व्यवस्थित शौचालय तथा पार्किङ क्षेत्रको समेत निर्माण गरिएको छ । पर्यटकहरु झरनासम्म पुग्नका लागि पहरामा फलामे पूल राखेर आकर्षक सिढीहरु निर्माण गरिएका छन । बाघलगायत जनावरका प्रतिमासमेत बनाइएका छन ।
विभिन्न भौतिक संरचना निर्माण सम्पन्न भएपछि बिहिबार एक कार्यक्रमका बीच उदघाटन तथा हस्तान्तरण गरे । निर्माण कम्पनीका प्रतिनिधि राजेन्द्र अधिकारीले गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत देवचन्द्र गर्तौलालाई ती संरचनाहरुको चाबी हस्तान्तरण गरे ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष राजकुमार मल्लले विभिन्न कठिनाईका बाबजुद आकर्षक पर्यटकीय संरचना निर्माण गर्न सफल भएको बताउनुभयो । राक्सिराङको चिनारीको रुपमा जलपरी झरना र चमेरो गुफा रहेको बताउँदै यसको संरक्षण र प्रवद्र्धन जरुरी रहेको उहाँको भनाई छ ।
सो क्षेत्रमा स्नानकुण्ड तथा पौडीपोखरी निर्माण गर्ने , विभिन्न आकर्षक फलफुल उब्जाउने, चौतारा निर्माण गर्ने लगायत थुप्रै कार्य बाँकी रहेको उहाँले बताउनुभयो । आफ्नो सोच र गाउँपालिकाको योजनाअनुसार बजेट व्यवस्थापन गरि निरन्तर काम गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
राक्सिराङ ३ का वडा अध्यक्ष उत्तम वाइबाले यस क्षेत्रको व्यवस्थापनका लागि समिति निर्माण गरि काम गरिने बताउनुभयो । आन्तरिक तथा बाह्य पर्यटकको लागि होमस्टे, लोकल परिकार सहितका रेष्टुरेन्टलगायत सुविधा उपलब्ध गराइने उहाँले बताउनुभयो । हाल भौतिक संरचना निर्माण सुरुवातको चरणमा रहेको बताउँदै उहाँले बृहत गुरुयोजनाका साथ जिल्लाकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाइने बताउनुभयो ।
निर्माण कम्पनीले ६ महिनाको अवधिमा निर्मारित पुर्वाधारहरु निर्माण गरि हस्तान्तरण गरेको हो । संघीय सरकारको १ करोड र गाउँपालिकाको ४० लाख बजेटमा सो संरचना निर्माण गरिएका हुन । पौराणीक किम्वदन्तीसँग जोडिएको जलपरी झरना तथा चमेरो गुफा पछिल्लो समय आन्तरिक पर्यटकको लागि उत्कृष्ट गन्तव्य बनेको छ ।-बुलबुलखबरबाट