नेपाली चलचित्र 'प्रकाश'को टोली यतिखेर प्रचारप्रसारको क्रममा रहेको छ । कलाकार सहितको टोली देशका विभिन्न शहरहरुमा प्रचारप्रसार गरिरहेको छ । भाद्र १० गते प्रदर्शनको तयारीमा रहेको प्रकाश चलचित्रका टोली आइतबार हेटौंडा आइपुगेका थिए ।
आइतबार चलचित्र युनिटले हेटौंडामा सञ्चारकर्मीसँग भेटघाट गर्दै चलचित्र प्रकाश नेपालबाहेक अन्य दशवटा देशमा समेत भदौ १० गतेबाट नै प्रदर्शन हुने चलचत्रि लेखक विकास सुवेदीले बताए । करिब २ करोड ५० लाख रुपैयाँ खर्चेर निर्माण गरिएको चलचित्र दर्शकले मनपराउनेमा चलचित्र निर्माण टिम आशावादी रहेको सुवेदीले बताए ।
चलचित्रमा आमाको भूमिका निर्वाह गरेकी नायिका दिया मास्केले समाजमा पहिचान खोजी गर्ने क्रममा एकल महिलाले गर्नुपर्ने संघर्षको विषयमा उठान गरिएको बताइन् । देशमा विभिन्न राजनीतिक परिवर्तन भएपनि रोजगारीका लागि जुम्ला बासीले गर्नुपर्ने दुःख र कष्टलाई चलचित्रमा देखाउन खोजिएको बताएकी छिन् । उनले आफु नायक प्रदीप खड्काको आमाको भूमिका गर्दै जुम्लाका महिलाहरुले भोग्नुपरेको कथावस्तुलाई चलचित्रमा उठान गरिएको उनले बताइन् ।
चलचित्र प्रसाद, पर्व, क्लासिकमा सहायक निर्देशन गरिसकेका चलचित्र प्रकाशका लेखक विकास सुवेदीले आफुले जुम्लाको महिलाको कथा बुझ्न लामो समय जुम्लामा बसेर कथा लेखन कार्य गरेको बताए । जुम्लाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रमा एकल महिला, उनको छोरो र गाउँका कथाव्यथालाई चलचित्रमा उतारेको उनले बताए ।
पत्रकार भेटघाटमा चलचित्रमा डेव्यु गरेकी नायिका रेणु योगीले आफूले जुम्लाकी एक गाउँले विद्यार्थी पात्रको भूमिका निर्वाह गरेको बताइन् । उनले प्रदीप खड्काको प्रेमिकाको रुपमा आफुलाई चलचित्रमा प्रस्तुत भएको बताइन् ।
सफल निर्देशक दिनेश राउतको निर्देशनमा बनेको चलचित्रमा दिया मास्के, प्रदीप खड्का, प्रकाश घिमिरे, राजन खतिवडा, रेणु योगी लगायत कलाकारहरुको अभिनय रहेको छ । चलचित्रलाई महेन्द्र अधिकारीले निर्माण गरेका हुन भने विकास सुवेदीले लेखेका हुन् ।