पोर्चुगल \ आगामी ३० जुलाईका दिन गैर आवासीय नेपाली संघ पोर्चुगलको निर्वाचन हुदैछ । पोर्चुगल लिस्बन निवासी दीपा काफ्लेले अध्यक्ष पदमा उमेद्धवारी घोषणा गरीसक्नु भएको छ । आईतबार सामाजीक संजाल मार्फत काफ्लेले आफनो उमेद्धवारीका बारेमा केही भनाई प्रस्तुत गर्दै पोर्चुगल निवासी नेपाली दाजुभाई तथा दिदिबहिनी आमाबुबाहरुमा सहयोगको अपिल समेत गर्नु भएको छ ।
उहाँले पोर्चुगल बसाईको करिब आधा दशकमा नेपाली समुदाय सँग प्रत्यक्ष रुपमा जोडिदै सुख दुखमा सहयोग गदै आफ्नो क्षमताले भ्याएसम्म समुदायको हितमा लागिरहेको बताउदै प्रवासमा हाम्रो पहिचान कला संस्कृति नयाँ नेपाली पुस्ता तथा विदेशमा सिकेको सीपलाई मातृभूमि नेपालसँग कसरी जोड्न सकिन्छ भन्ने कुराहरुलाई मुख्य एजेण्डा बोकेको बताउनु भयो ।
आफुले सामाजिक कार्यहरुमा रचानात्मक र सृजनात्मक तरिकाले समाजिक उत्तरदायित्व बहन गर्दै सहभागिता देखाउँदै आएको बताउँदै काफ्लेले पोर्चुगलमा नेपालीहरुको समस्या समाधानमा लाग्नुनै आफनो कर्तव्य रहेको बताउनु भएको छ ।
मैले के गरे भनेर समाजलाई प्रकट गर्नु भन्दा पनि मैले अझै समाजलाई धेरै गर्नु छ भन्दै उहाँले आफनो अन्तरमनबाट जीवनको केही महत्वपूर्ण हिस्सा समाजले पनि पाउनु पर्दछ भन्ने अभिलासा बोकेको बताउनु भयो ।
आज आफुलाई समय,इच्छाशक्ति र आफना शुभेच्छुकहरुको माया र शुभकामनाले २०२३—२०२५ को लागी अध्यक्ष पदमा उम्मेदारी दिन घचघचाएको भन्दै आफनो लागी पद ,पदवी कुनै पनि अर्थमा महत्वपूर्ण नभएपनि समाजले आफुबाट केही अपेक्षा गर्दै गर्दा मैदान छोडेर हिड्नु सामाजिक उत्तरदायित्व सच्चा अर्थमा बहन नभएको कारण अध्यक्ष पदमा अगाडी बढने बताउनु भयो ।
लोकतान्त्रिक प्रकृयाको सुन्दर पक्ष निर्वाचन हो,निर्वाचनमा जादै गर्दा एउटाको पक्षको हार र अर्को पक्षको जित अवश्य हुन्छ,परिणाम जे आए पनि सहर्ष स्वीकार गदै समाजसेवाको यो महान अभियानमा सधै जोडिरहने समेत उहाँले उद्घोष गर्नु भएको छ । उहाँले आफु विजयी हुनेमा विश्वस्त रहेको समेत जनाउनु भएको छ । उहाँले अग्रजलाई सम्मान युवालाई प्रोत्सान भन्दै आफनो उमेद्धवारी अगाडी बढेको बताउनु भयो ।