हेटौँडा \ बकैया गाउँपालिका–१२, ठिङ्गनबेँसीका ५७ वर्षीय कमल घले २० वर्षअघिसम्म बागमती नदी किनारमा तीन चारवटा पानी घट्ट चलाउनुहुन्थ्यो। घट्टमा मकै, कोदो पिसेर पाएको ज्याला र बागमती नदीमा मारेको माछा बेचेर सात जनाको परिवार पालिएका थिए। अहिले अवस्था त्यस्तो छैन, नदी प्रदूषित र दुर्गन्धित हुँदै गएपछि उहाँको पानी घट्टको व्यवसाय बन्द भयो भने खोलामा माछा पनि पाइन छाडे।
ललितपुर, मकवानपुर, काभ्रे र सिन्धुलीका करिब दुई हजार परिवार बागमतीको प्रदूषणबाट प्रत्यक्ष प्रभावित भएका छन्। नदीको प्रदूषणले स्वच्छ खानेपानीको समस्यादेखि जीविकोपार्जनमै समस्या भइरहेकाले प्रभावित परिवार वैकल्पिक पेसा रोज्दै थातथलो छाड्नुपर्ने बाध्यतामा पुगेका छन्।
“सानो छँदा बागमती नदी सफा थियो, कञ्चन पानी आउँथ्यो, हामी बस्तुभाउ चराउन जाँदा पौडी खेल्थ्यौँ, नुहाउँथ्यौँ, त्यही पानी पिउँथ्यौँ, अहिले सबै कथा जस्तै भइसकेको छ,” मकवानपुरको बकैया–१० का सोमबहादुर तिमल्सिना २०–२५ वर्षअघिको समय स्मरण गर्नुहुन्छ।
काठमाडौँ उपत्यकाबाट निस्कने ढल र फोहोर सबै बागमती नदीमा मिसाइदिँदा आफूहरूले समस्या भोग्नु परेको भन्दै तिमल्सिनाले चिन्ता व्यक्त गर्नुभयो। “२०५८ सालअघि बागमती नदीको माछा निकै प्रख्यात थियो। नदीमा दिनभर माछा मारेर ती माछा बेचेरै धेरैको दुई छाक टरेको थियो। अहिले किरा पनि भेट्न गाह्रो छ,” तिमल्सिनाले भन्नुभयो।
बकैया–१२ का स्थानीय रूपेन घलेले स्वच्छ, सफा बागमती नदी अहिले ‘ढलमती’ भएको भन्दै नदीको दुरवस्था देख्दा मन दुखेको बताउनुभयो। ललितपुरको बागमती गाउँपालिका–४, प्युटारस्थित कालीदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक ठाकुर लामाले २० वर्षअघि बागमती खोलाको पानी पिउने गरेको स्मरण गर्दै अहिले बागमती नदीमा उपत्यकाको फोहोर र ढल मिसिएर आउन थालेपछि स्थानीयको पानीको स्रोतसमेत गुमेको भन्दै चिन्ता व्यक्त गर्नुभयो। बागमतीको पानीले ठाउँ ठाउँमा घट्ट चलाएर जीवनयापन गर्नेहरू पनि अहिले विस्थापित भइसकेका छन्।
पानी प्रदूषण भएका कारण पानी छुँदा हातगोडा चिलाउने, डाबर आउने, छाला फुस्रो हुने र दुर्गन्धित वातावरण हुने समस्या भोग्नु परेको स्थानीय बताउँछन्।
बागमती नदी प्रदूषणले ललितपुरको बागमती गाउँपालिकाको वडा नं. २ को माल्टा, वडा नं. ४ को प्युटार (खयरघारी क्षेत्र), वडा नं. ६ को आस्राङ र वडा नं. ७ को गिम्दीका करिब पाँच सय घरधुरी र मकवानपुरको इन्द्रसरोवर (सिस्नेरी), भीमफेदीको (इपा), बकैयाको (मन्थली), काभ्रेको खानीखोला, मकवानपुरकै बागमतीको भोर्लेनीदेखि राईगाउँसम्म एक हजार घरपरिवार र काभ्रे, सिन्धुलीसहित तटीय क्षेत्रमा बसोबास गर्ने करिब दुई हजार घरपरिवार प्रत्यक्ष प्रभावित बनिरहेका छन्।
खेतीपाती पनि प्रभावित
त्यस्तै बागमती गाउँपालिका–४, प्युटार खैरेनबेँसीका नारायणबहादुर घलेले काठमाडौँका अस्पतालबाट निस्केका रसायनजन्य पदार्थसमेत नदीमा मिसिएर आउँदा त्यसले आममानिस र समग्र जीव, वनस्पतिमा ठुलो असर परेको बताउनुभयो। “त्यति बेला माछा मारेर हाम्रो जीविका चल्थ्यो। अहिले माछा लोप भयो। ढलसहितको पानीले खेती भने फस्टाएको छ। धान, मकै राम्रै फल्छ। रासायनिक मल प्रयोग गर्नु पर्दैन तर प्रदूषित पानीका कारण धेरै खालका समस्या भोग्नु परेको छ,” उहाँले भन्नुभयो।
ललितपुरको बागमती, भट्टेडाँडा, छवेलीका दीपक घिमिरे (समीर) ले बागमती नदीको पानीबाट सिँचाइ गर्दा खेतबारीमा प्लास्टिक, फोहोर, बोरा, तार र रासायनिक पदार्थ मिसिएको फिँजयुक्त पानीले समस्या हुने गरेको सुनाउनुभयो। “बुवाको पालामा यही नदीको पानी हालेर रोटी पकाएर खान्थ्यौँ, हाम्रो पालामा नदीको पानी खेतबारीमा पनि हाल्न नहुने भइसक्यो,” उहाँले भन्नुभयो।
आएन लगानीको प्रतिफल
बागमती नदीबारे चासो राख्ने हेटौँडाका भीमसेन महतले बागमती नदी धार्मिक र ऐतिहासिक महत्वको नदी भएको भन्दै त्यसको मुहानैदेखि सरसफाइ गरी संरक्षण गर्नुपर्ने बताउनुभयो । नदी सफा गर्न सरकारले करोडौँ रुपियाँ लगानी गरे पनि खासै प्रतिफल भने नआएको बताउनुभयो। “बागमती नदीको पानी गाईवस्तुले पिउनसमेत योग्य छैन, नदीको तटीय क्षेत्रमा बसोबास गर्नेहरू विस्थापित हुनुपर्ने अवस्था छ। यो समस्या समाधान गर्न सबै पक्ष जिम्मेवार भएर लाग्नु पर्छ,” महतले भन्नुभयो।
काठमाडौँवासीले विषाक्त बनाएका कारण नदी तटीय क्षेत्रमा बस्ने मानिस विस्थापित हुने अवस्थामा पुगेको भन्दै महतले सरकारको ध्यानाकर्षण हुनुपर्ने बताउनुभयो।
क्षतिपूर्ति माग
काठमाडौँ उपत्यकावासीले गरेको फोहोर सिधै बागमती नदीमा मिसाउँदा नदी प्रदूषित हुनुका साथै तटीय बस्ती सङ्कटमा परेकाले यहाँका बासिन्दालाई उचित व्यवस्थापनका साथै क्षतिपूर्ति पनि उपलब्ध गराउनुपर्ने तिमल्सिनाको माग छ।
दुई दशकदेखि बागमती नदीको तटीय क्षेत्र ललितपुर, मकवानपुर, काभ्रे र सिन्धुली क्षेत्रमा बागमती नदीले पारेको नकारात्मक प्रभावले प्रदूषित भएको बागमती तटीय क्षेत्रका बासिन्दालाई क्षतिपूर्ति र प्रदूषण गर्नेलाई जरिबाना तिराउन अभियान चालिएको अभियन्ता सरोज न्यौपानेले बताउनुभयो। स्थानीयस्तरदेखि सदनसम्म बेला बेलामा बागमती प्रदूषण गर्ने काठमाडौँवासीले पीडित पक्षलाई क्षतिपूर्ति दिलाउन सरकारसँग माग गरिएको थियो।
सरकारबाट क्षतिपूर्तिका रूपमा रकम पाए त्यसबाट बागमतीको पानीबाट सिँचाइ गरी उत्पादित अर्गानिक तरकारी, फलफूल उत्पादन गर्न अनुदान दिन सकिने, सडक र सिँचाइ र सिमात (बकैया गाउँपालिका) बागमती ट्रेकिङ रुट बनाउन सकिने अभियन्ता न्यौपानेले बताउनुभयो।
ललितपुरको बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले काठमाडौँ, भक्तपुर, ललितपुर र अधिकारसम्पन्न बागमती एकीकृत सभ्यता विकास समितिलाई जेठमा ध्यानाकर्षणपत्र बुझाएको बताउनुभयो। बागमती तटीय क्षेत्रका प्रभावितको जायज मागको सुनुवाइ नभए कानुनी लडाइँ लड्ने चेतावनी उहाँले दिनुभयो। काठमाडौँको बल्खुभन्दा माथि बागमती नदीको प्रदूषण कम गर्न केही प्रयास भए पनि त्यसभन्दा तल कुनै कार्यक्रम नरहेको गुनासो छ। - अनील पराजुली, गोरखापत्रबाट