हेटौंडा \ बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेशमा विपद्पूर्व तयारी गर्न निर्देशन दिएका छन् । आन्तरिक मामिला तथा कानून मन्त्रालय हेटौंडामा मंगलवार भएको बैठकमा उनले विपद् आउनु आगडि नै प्रभावित हुनसक्ने क्षेत्र पहिचान गरेर तयारी गर्न निर्देशन दिएका हुन् । उनले प्रदेश सरकार माताहत मकवानपुर, नुवाकोट र काभ्रेमा रहेको गोदाम घर (विपद्को राहत तथा उद्दार सामग्री) चालु अवस्थामा राख्नु निर्देशन दिए ।
बैठकमा मनसुनजन्य विपद्पूर्व तयारी तथा प्रतिकार्य योजना २०८०, प्रदेश विपद् कोषबाट लागत साझेदारीवापत उपलब्ध गराईएको रकम, प्रदेश विपद् व्यवस्थापन कोषको रकम खर्च गर्ने सम्बन्धमा छलफल भएको थियो ।
प्रदेश विपद् व्यवस्थापन कोषमा मौजाद रहेको रकमबाट जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिको समन्वयमा आवश्यकता र औचित्यताको आधारमा विपद् व्यवस्थापन कोष परिचालन गर्ने, विपद् पहिचान भएका स्थानीय तहरुमा पूर्व तयारी, खोज उद्दार र राहत, आवास पूननिर्माण र पुनस्थापनाका लागि प्रदेश सरकारले रकम उपलब्ध गराउने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्री एवं बागमती प्रदेश सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठले जानकारी दिए ।
बैठकमा सामाजिक विकास मन्त्री कुमारी मोक्तान, भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल, कृषि तथा पशुपन्छी विकास मन्त्री राजेन्द्रमान श्रेष्ठ, श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल, पर्यटन उद्योग तथा सहकारी पुकार महर्जन, स्वास्थ्य मन्त्री उत्तम जोशी, नेकपा एमाले बागमती प्रदेशसभा प्रमुख सचेतक मधुसुदन पौडेल, प्रदेससभा सदस्य सरल सहयात्री पौडेल, बागमती प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्याय, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव ध्रुव गैडा, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव महेश आचार्य, प्रदेश लेखा नियन्त्रक हरिप्रसाद उपाध्याय, आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव दीपकप्रसाद न्यौपाने लगायतकाको सहभागिता रहेको थियो ।
२२ हजार घरधुरी प्रभावित हुने
बागमती प्रदेशमा बाढी तथा पहिरोबाट लगभग २२ हजार घरधुरी र ९७ हजारभन्दा बढी जनसंख्या प्रभावित हुन सक्ने अनुमान प्रदेश सरकारले गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विपद् पोर्टल अनुसार विगत १० बर्ष (२०६९ देखि २०७९) सम्मको तथ्याङ्कलाई विश्लेषण गर्दा प्रदेशमा घटने मनसुनजन्य विपद्हरु क्रमशः बाढी, पहिरो, भारी बर्षा र महामारी रहेका छन् ।
विगत १० बर्षको तथ्याङक अनुसार २४३ वटा बाढीका घटनाहरुमा ९६ जना मानिसको मृत्यु, ३९ जना घाइते र ५८ जना वेपत्ता भएको देखिन्छ भने सबैभन्दा बढी मानिसको मृत्यु २०७० सालमा भएको देखिन्छ । २०७९ सालको मनसुन तथ्याङक अनुसार बागमती प्रदेशमा १३ वटा बाढीका घटनाहरु भएमा २ जनाको मृत्यु भएको छ भने ९ घर पूर्ण क्षति हुँदा ९२ लाख ७३ हजार क्षति भएको थियो ।
२०७९ सालमा भएको बाढीको घटनाको तथ्याङ्क अनुसार यस्को प्रभाव असारदेखि कार्तिक सम्म हुने गरेको छ । जसमध्ये साउन महिनामा सबैभन्दा धेरै प्रभावित हुने गरेको तथ्याङ्क छ । बागमती प्रदेशमा गत बर्ष बाढीका घटना र क्षति भक्तपुर जिल्लामा सबैभन्दा बढी भएको र यसबाट ५७ लाख बराबरको क्षति भएको थियो । १३ जिल्ला मध्ये प्रदेशमा बाढीका कारण मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, काठमाडौं, रसुवा, काभ्रेपलान्चोक र रामेछाप प्रभावित हुने गरेको तथ्याङ्क छ ।-गाेरखापत्रबाट साभार