हेटौंडा \ हेटौंडा बजार क्षेत्रको २५ मिटर सडक विस्तारको विषयमा बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई हेटौंडाका व्यवसायीहरुको संघहरुले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका छन् । सडक डिभिजन कार्यालयले ३५ दिने सुचना प्रकाशन गरे सँगै प्रभावित व्यवसायीहरुको ध्यानाकर्षण भएको भन्दै २५ मिटर सडक विस्तार हुँदा १ हजार ८ सय घरधुरी प्रभावित हुने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
पत्रमा प्रभावित व्यवसायी पाँच हजार जना, व्यवसायीहरुको अनुमानित १५ अर्ब लगानी क्षति, आश्रित मानिसहरु २५ हजार, १५ हजार जनाको स्वरोजगार वा रोजगारी गुम्ने अवस्था सिर्जना हुने उल्लेख गरिएको छ । कर्जा तिर्न नसक्ने अवस्थामा रहेका व्यवसायीहरु करिब २ हजार, बैंक तथा वित्तीय संस्थाको बजारमा अन्य लगानी करिब १५ अर्ब रहेको ज्ञापनपत्रमा उल्लेख रहेको छ ।
पत्रमा उल्लेख भएबमोजिम समस्याका कारण संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग सडकको हाल विद्यमान चौडाईलाई केही बढाएर अर्को विकल्प खोज्ने वा वास्तविक लगत लिने, सडक विस्तार हँुदा व्यवसायीको उचित स्थानमा व्यवस्थापन तथा घरधनीलाई उचित मुआब्जा दिनुपर्ने, सडकको पुनः निर्माण अवधिभर व्यवसायीको बैंक तथा वित्तीय संस्थाको ऋणलाई शुन्य अवधि मानेर सो अवधिको व्याज समेत जोडर प्रभावित व्यवसायीलाई पुनः तालिकीकरणको व्यवस्था गर्न तीन तहकै सरकारले बैंक तथा वित्तीय संस्थाहरुलाई पहल गर्नुपर्ने माग रहेको मकवानपुर फर्निचर व्यवसायी संघका अध्यक्ष कृष्ण अर्यालले बताए ।
उनले पुनः निर्माण अवधिभरको व्यवसाय कर तथा घर बहाल कर छुट हुनुपर्ने, पुनः निर्माण अवधिभरको लागि राष्ट्र बैंकद्धारा जारी गरिएको कर्जा सम्बन्धी मौद्रिक नीतिले कारोबारलाई आधार मान्ने भएकोले त्यसमा लचकता अपनाउने व्यवस्थाको लागि तीन तहकै सरकारले पहल गर्नुपर्ने बताए । पत्रमा प्रभावित क्षेत्रको घरटहरा पुनः निर्माण पश्चात साविक व्यापार व्यवसाय गरिरहेका व्यवसायीहरुलाई विना धरौटी बिना झन्झट पसल कबल उपलब्ध हुने सुनिश्चिता गर्नुपर्ने माग गरिएको छ ।
पत्र बुझाउने कार्यक्रममा जुत्ता चप्पल व्यवसायी संघका अध्यक्ष रामहरि तिमल्सिना, मोवाईल एशोसिएसन अफ नेपाल मकवानपुरका अध्यक्ष नवराज चौलागाई, कपडा तथा तयारी पोशाक व्यवसायी संघका अध्यक्ष नेत्र प्रसाद खतिवडा, हेटौंडा ढुवानी एशोसिएसन अध्यक्ष प्रदीप अर्याल, ग्रील तथा स्टिल व्यवसायी संघका अध्यक्ष कुमार पौडेल, मकवानपुर भाडाँ व्यवसायी संघका अध्यक्ष हेमराज बानियाँ, मकवानपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष पवन शाक्य, निर्माण सामग्री व्यवसायी संघका अध्यक्ष बालकृष्ण बजगाई लगायतको उपस्थिती रहेको थियो ।
संयुक्त व्यवसायी संघले हेटौंडा उपमहानगरका नगर प्रमुख मीना कुमारी लामा र उपप्रमुख राजेश बानियाँ, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय सहित मकवानपुरका विभिन्न प्रमुख राजनीतिक दलका प्रमुखहरुलाई ज्ञापनपत्र बुझाई सकिसकेका छन् ।