हेटौंडा / एसईई परिक्षा २०७९ मा उच्च अंक ल्याउने मकवानपुरका १ सय ७१ विद्यार्थीहरुलाई निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) मकवानपुरले एकमुष्ट सम्मान गरेको छ । हेटौडामा बिहिबार आयोजित एक कार्यक्रमका बीच औसत ३ दशमलव ६ जिपिए भन्दा माथी अंक ल्याउने विद्यार्थीहरुलाई हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले सम्मान गर्नु भएको हो । एसइइ परिक्षामा सहभागी बन्दै ४ जिपीए ल्याई नेपाल टप हुन सफल तासिर इङिलस बोर्डिङ स्कुलकी छात्रा डाफिन राईका र जिल्लामा रहेका सम्पुर्ण संस्थागत विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउने विद्यालय तर्फ हेटौंडा १८ मा रहेको मकवानपुर बाल विद्या सदनले ३ दश्मलव ३३ अंक पाउँदै संस्थागत विद्यालय तर्फ उत्कृष्ट भई सम्मानित भएको थियो ।
कार्यक्रममा बालजागृति इङिलस बोर्डिङ स्कुलका तीस जना, जीएस निकेतन इङिलस बोर्डिङ स्कुलका २७ जना, तासिर इङिलस बोर्डिङ स्कुलका २१ जना, नवोदय इङिलस बोर्डिङ स्कुलका १२ जना, हेटौंडा एकेडेमीका १० जना लगायत अन्य विद्यालयका गरि एक सय ७१ जना विद्यार्थीलाई सम्मान गरिएको प्याप्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदीले बताउनुभयो ।
सम्मानगर्दै कार्यक्रमका प्रमुख अतिथी नगरप्रमुख लामाले परीक्षा उतीर्ण गरेका विद्यार्थीहरुलाई उज्जवल भविष्यको शुभकामना दिँदै उपमहानगरपालिका शैक्षिक गतिविधिलाई परिवर्तन गर्ने पक्षमा रहेको बताउनु भयो । अहिलेको शिक्षाले रोजगारी भन्दा पनि बेरोजगरको संख्या बढाउँदै लगेको भन्दै हेटौडा उपाहानगरपालिका नगरमा इन्जिनियरिङ, कृषि र कानुनको शिक्षा सञ्चालनको तयारीमा रहेको जानकारी दिनु भयो ।
अध्यापनमा आउँने समस्या हटाउनका लागि उपमहानगरपालिकाको ढोका सधै खुल्ला रहेको भन्दै उहाँले शिक्षामा आउने समस्या समाधानका लागि सधै खम्बा भएर उभिन तयार रहेको बताउनु भयो । सम्मान कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड हेटौंडाका प्रमुख कृष्णप्रसाद घिमिरे, शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरका प्रमुख दीनानाथ गौतम, प्याब्सन बागमती प्रदेशका अध्यक्ष केशवलाल श्रेष्ठ, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट, संस्थागत विद्यालय अभिभावक संघ मकवानपुरका अध्यक्ष रमिला सापकोटा, नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरका अध्यक्ष श्रीराम दाहाल कार्यक्रममा मकवानपुरका बिभिन्न सस्थागत विद्यालयका विद्यार्थी तथा अभिभावकहरुको सहभागिता रहेको थियो ।