हेटौंडा \ हेटौंडा बजार क्षेत्रको २५ मिटर सडक विस्तारलाई लिएर मकवानपुर उद्योग वाणिज्य संघले विभिन्न संघर्षका कार्यक्रमहरु गर्ने बताएको छ । सर्वोच्च अदालतको प्रष्ट फैसला हुँदाहुदै पनि सडक डिभिजन हेटौंडाको प्रस्तुति सर्वोच्च अदालतको फैसलाको अवहेलना हुने खालको देखिएको बताउँदै यसले कानूनी राज्य र लोकतन्त्रमा जनता सर्वोपरी हुने तथ्यलाई खिल्ली उडाएको आभाष भएको मउवा संघ अध्यक्ष कृष्ण कुमार गुप्ताले बताउनु भयो ।
संघले शनिबार बुद्धचोकमा बृहत विरोध प्रदर्शन गर्ने तयारी समेत गरेको छ । बजार क्षेत्रका व्यवसायीलाई सहभागिता जनाउन भन्दै माइकिङ गर्दै सुचना फैलाएको छ । तर यत्तिबेला मउवा संघलाई हेटौडाका व्यवसायीहरु भन्दा पनि सडक क्षेत्रमा परेका घरधनी बचाउने र मुआब्जा दिलाउने अभियानमा बढी सक्रिय रहेको रहेको देखिन्छ ।
मउवा संघले व्यवसायीका पक्षमा वकालत नगरेको गुनासो व्यवसायीहरुले गर्न थालेका छन् । १६ गते नजिकिदैं छ तर छाता संघहरु भने व्यवसायीप्रतिको मागहरुमा अलिक सुस्ताएको होकी भन्ने आभाष भएको पिडित व्यवसायीले गुनासो राखेका छन् । उनीहरुले मउवा संघबाट आफुहरुलाई स्थानन्तरणको त कुरै छाडौ आईपर्ने समस्याका बारेमा बोलिदिने फुर्सद नै नभएको आरोप लगाएका छन् । हेटौडा १० राप्ती रोडमा लामो समय देखी व्यवसायी गर्दै आएका एक जना व्यवसायीले मउवा संघ घरधनी जोगाउन मात्र कस्सिएको आरोप लगाए ।
उनले आफुहरु विस्तापित हुदाँ यसको असर र उब्जने समस्याका बारेमा खासै चासो नलिएको गुनासो पोखे। हेटौडाका धेरै व्यवसायीहरु सडक विस्तारको मारमा पर्ने देखिन्छ । चाडपर्व नजिकिदै छ, सामानहरु हाल्नुपर्छ, लगानी फस्यो भने मर्नु न बाँच्नुको अवस्था हुन्छ अर्काका व्यवसायीले दुखेसो पोखे । उनले अब सडक विस्तारमा कसैले रोकेर नरोकिने अवस्थामा पुगीसकेको बताउदै घरधनीभन्दा बढी भाडामा व्यवसायी गर्नेहरुनै बढी मारमा परेको गुनासो पोखे ।
२५ मिटर सडक विस्तार हुँदा १ हजार ८ सय घरधुरी प्रभावित हुनेछन् भने पाँच हजार जना भन्दा बढी व्यवसायीहरु प्रभावित हुनेछन् । यसबाट १५ अर्ब लगानी क्षति हुने, २५ हजार जना यसबाट आश्रित मानिसहरुको रोजीरोटी खोसिने, १५ हजार जनाको स्वरोजगार वा रोजगारी गुम्ने अवस्था सिर्जना हुने देखिन्छ । कर्जा तिर्न नसक्ने अवस्थामा रहेका व्यवसायीहरु करिब २ हजार जना छन भने बैंक तथा वित्तीय संस्थाको बजारमा अन्य लगानी गर्ने व्यवसायीहरुको करिब १५ अर्ब नोक्सान हुने तथ्यांक रहेको छ । यस हिसावले २५ मिटर सडक विस्तारबाट घरधनीहरु भन्दा बढी व्यवसायीहरुनै मर्कामा पर्ने उनीहरुले गुनासो गरेका छन् ।