हेटौंडा \ सामुदायिक वन समूहले गरेका विभिन्न कार्यहरुको अबलोकन गर्न आएको समूहले हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वनको अवलोकन गरेको छ । कैलाली जिल्लामा रहेको कैलाशेश्वर सामुदायिक वनले शुक्रवार रानी सामुदायिक वनको अवलोकन गरेको हो ।
अवलोकनकर्ताहरुलाई रानी सामुदायिक वनका उपाध्यक्ष केशव धिताल, कार्यालय सचिव भीमसेन पौडेल र वन हेरालु हरिचन्द्र सापकोटाले समूहले गरेका विभिन्न कार्यहरुको बारेमा जानकारी गराएका थिए ।
अवलोकनकर्ताहरुलाई समूहले गरेका वन सदुपयोग, ब्यवस्थापन, कार्यालय ब्यवस्थापन, पर्यापर्यटन, सामाजिक कार्यहरु, आयआर्जन, वृक्षारोपण लगायतका विषयहरुमा जानकारी गराएका थिए ।
कैलाशेश्वर सामुदायिक वनका अध्यक्ष खड्ग बहादुर सिहको नेतृत्वमा आएको भ्रमण दलमा कार्यसमितिका पदाधिकारी, सल्लाहकार, वन प्राविधिक, कर्मचारी र उपभोक्ताहरु समेत गरि ३० जनाको सहभागिता थियो ।
सामुदायिक वनको क्षेत्रमा काम गर्नेहरुको लागि अनुसन्धान केन्द्रको रुपमा रहेको रानी सामुदायिक वनले आव. ०७९/८० को बागमती प्रदेश स्तरीय उत्कृष्ट सामुदायिक वनको पुरस्कार पाएको थियो ।