हेटौंडा \ हेटौंडाको मुख्य बजार क्षेत्रका २५ गज भित्र पर्ने घर टहर बिना मुआब्जा भत्काउन नहुने र नदिने भन्दै व्यावसायी र घरधनीहरुले शनिबार हेटौंडाको मुख्यचोकमा विरोध प्रदर्शन गरेका छन् ।
शनिबार हेटौंडाको मुख्यचोकमा भेला भएर हेटौंडाको मुख्य बजार क्षेत्रका २५ गज भित्र पर्ने घर टहर बिना मुआब्जा भत्काउन नहुने भन्दै व्यावसायी र घरधनीहरुले विरोध प्रदर्शन गरेका हुन्। मकवानपुर उद्योग वाणिज्य संघ र हेटौंडा बसोबास संरक्षण समितिको संयुक्त आयोजनामा उक्त विरोध प्रदर्शन गरिएको हो ।
विरोध प्रर्दशनमा बोल्दै मकवानपुर उद्योग वाणिज्य संघ पुर्व अध्यक्ष, घरधनी र हेटौंडा बसोबास संरक्षण समितिका पदाधिकारीले विरोधसभामा लालपूर्जा भएका घर, जग्गाहरुको क्षतिपूर्ति दिएर मात्र सडक विस्तार गर्न चेतावनी दिएका थिए ।
कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ता अग्रवालको अध्यक्षता भएको थियो । कार्यक्रममा बागमती प्रदेश सभा सदस्य लक्ष्मी देवी श्रेष्ठ, मउवा संघका पूर्व अध्यक्ष भुवनलाल श्रेष्ठ, उत्तम शर्मा ढकाल, मकवानपुरका विभिन्न दलका प्रमुखहरु, वस्तुगत विभिन्न व्यवसायी संघका अध्यक्षहरुको आतिथ्यता रहेको थियो ।
विरोध सभामा सहभागी ले बिना मुआब्जा घर भत्काए त्यसको प्रतिकारमा उत्रने चेतावनी पनि दिएका छन् । यता डिभिजन सडक कार्यालयले यही साउन १६ गतेबाट हेटौंडा–१५ रातोमाटेदेखि हेटौंडाको राप्ती पुलसम्म एकैसाथ जुनसुकै स्थानबाट सडक विस्तार सुरु गर्ने बताएको छ। यसकालागि जेसिवी,डोजर र अन्य हेवी उपकरण तयारी अवस्थामा रहेको डिभिजन सडक कार्यालयका प्रमुख राजेश यादवले बताए ।