हेटौंडा \ नगरको विकासस्तरलाई उकास्नका लागि हेटौंडा उपमहानगरपालिकाले आवधिक योजना निर्माण थालेको छ । आगामी ५ वर्षमा गर्ने कामले नगरको विकासका कामलाई व्यवस्थित र गुणस्तरीय बनाउनका लागि उपमहानगरपालिकाले आवधिक योजना र अध्यकालीन खर्च संरचना तर्जुमा निर्माण थालेको हो ।
उपमहानगरले बनाएको ५ वर्षे लक्ष्यलाई कार्यान्वयन गराउँदै नगरको आर्थिक, सामाजिक, पुर्वाधार विकास र सम्भावनाको आंकलन गर्दै नगरलाई अव्बल बनाउँन मद्दत गर्ने बताइएको छ ।
करिब ४ महिनाको समय सिमा अवधि राखेर उपमहानगरले आवधिक योजना निर्माण थालेको हो । योजना निर्माणका क्रममा बागमती प्रदेशको राजधानी शहरको रुपमा रहेको हेटौंडाको दीगो विकास र सम्भावनाको आंकलन गरीने उपमहानगरको सामाजिक विकास महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिनाले बताए । आवधिक योजनाले नगरमा निर्माण हुने गौरवका योजना कार्यान्वयका लागि संघ, प्रदेशसँग समन्वयका लागि भूमिका खेल्ने उनले बताए ।
उनका अनुसार महानगरको लक्ष्य लिएर अघि बढिरहेको उपमहानगरपालिकालाई आवधिक योजनाले यहाँको समग्र विकासको गतिविधि र सम्भावनालाई (जिआइएस) प्रविधि मार्फत जोडेर वडागत देखाउन सकिने गरी काम अघि बढाइएको हो । योजना निर्माण पुर्व उपमहानगरले निर्माण गर्ने आवधिक योजनाबारे आइतबार छलफल गरीएको छ ।
उपमहानगरका नगर प्रमुख मीनाकुमारी लामाको अध्यक्षतामा भएको कार्यक्रममा नगर कार्यपालिका सदस्य, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, महाशाखा प्रमुख, शाखा प्रमुखबीच परामर्श दाता संस्थाले अभिमुखिकरण गरेको छ । योजना अनुसार सोमबार देखि नगरका विभिन्न वडाहरुको बेसलाईन सर्वे सुरु गरीने भएको छ ।
सर्वे मार्फत नगरका वडाहरुको भौगोलिक सुचना प्रणालीमा आधारित तथ्याङक संकलन गर्ने कार्य थालिने छ । योजना निर्माण अन्तरगत सोमबार साउन १५ देखि १९ गते सम्म प्रत्यक वडाहरुमा पुगी पहिलो चरणको सर्वे हुने छ । सर्वे पछि नगरको समग्र आर्थिक, सामाजिक अवस्था मापन गर्न सकिने बताइएको छ ।
नगरको सामाजिक तथा आर्थिक विकासका लागि उपलव्ध साधन श्रोतको परिचालन गरी लक्ष्य निति तथा कार्यक्रम कार्यान्वयनका लागि चाहिने श्रोतको पहिचान गर्ने दस्तावेज आवधिक योजना भएको बताइएको छ ।