हेटौँडा \ बागमती प्रदेशमा डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ। बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार गत पुस १७ देखि साउन १५ सम्म ९८० जनामा डेङ्गु सङक्रमण पुष्टि भएको छ। सात महिनाको अवधिमा डेङ्गु सङ्क्रमणका कारण सबैभन्दा धेरै धादिङ प्रभावित भएको छ। प्रदेशका १३ वटै जिल्लामा डेङ्गु सङ्क्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका सूचना अधिकारी डा. रविन भुसालका अनुसार धादिङमा ५७६ जना, काठमाडौँमा दुई जना, भक्तपुरमा ४१ जना, ललितपुरमा ३७ जना र नुवाकोटमा २८ जनामा डेङ्गु पुष्टि भएको हो। रामेछापमा २३, चितवनमा २८, काभ्रेपलाञ्चोकमा ११, सिन्धुलीमा ११, मकवानपुरमा १५, रसुवामा चार, दोलखा र सिन्धुपाल्चोकमा तीन/तीन जनामा डेङ्गु सङक्रमण भएको छ।
पछिल्लो तथ्याङ्कले गत वर्ष झैँ यो वर्ष पनि बागमतीमा डेङ्गु रोग सङक्रमणको उच्च जोखिम देखिएको छ। साउन दोस्रो हप्तासम्म आइपुग्दा डेङ्गु सङक्रमण भएका बिरामीको सङ्ख्याले पनि स्रोतमै रोकथाम र नियन्त्रणका उपाय नअपनाइए महामारीको रूप लिने देखिएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०१९ मा चार हजार ५४ जना, २०२० मा ८६, २०२१ मा १२८ जनामा र सन् २०२२ को जुलाईदेखि २०२३ को जुनसम्म यस प्रदेशमा ४२ हजार ७१४ जनामा डेङ्गु रोग सङक्रमण भएको छ।
साउनमा छ सय डेङ्गु सङक्रमण
साउनको १५ दिनमा यस प्रदेशका आठ जिल्लामा छ सय जनामा डेङ्गु सङक्रमण भएको छ। धादिङमा ४३८, काठमाडौँमा १२२, भक्तपुरमा आठ, ललितपुर र मकवानपुरमा नौ नौ, नुवाकोटमा पाँच, चितवनमा आठ र सिन्धुपाल्चोकमा एक जनालाई डेङ्गु सङक्रमण भएको मन्त्रालयले जनाएको छ। देशभरसहित यस प्रदेशमा पनि डेङ्गु सङक्रमणको दर बढेको छ। साउन दोस्रो सातासम्मै सङक्रमणको दर बढ्नु चिन्ताको विषय हो, मन्त्रालयका सूचना अधिकारी भुसालले भन्नुभयो, “पिक समय आउँदै छ, हरेक वर्ष भदौ, असोज र कात्तिक महिनामा सङक्रमण दर अझै बढ्छ।”
डेङ्गु सङक्रमण बढेपछि धादिङ अस्पतालमा यसको उपचारका लागि पाँच शय्याको व्यवस्था गरिएको छ। धादिङमा डेङ्गु सङक्रमण बढ्दै गएपछि बिरामीको उपचारका लागि शय्या थप गरिने सूचना अधिकारी भुसालले जानकारी दिनुभयो। जनवरीबाट धादिङमा ५७६ जनामा डेङ्गु सङक्रमण भएको तथ्याङ्क छ।
‘लार्भा खोज र नष्ट गर’ अभियान
लामखुट्टेको टोकाइबाट हुने डेङ्गु रोग सङक्रमण रोक्न प्रदेशभर ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ। मन्त्रालयका अनुसार सचेतना जगाउनेसँगै स्थानीय तहसँग समन्वय गरी ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको हो। वर्षामा पानी जम्ने स्थानमा सरसफाइ गर्ने तथा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान चलाइएको हो।
चालु आवमा डेङ्गुलगायतका महामारीजन्य रोग नियन्त्रण र रोकथाम गर्न तीन करोड १२ लाख ५० हजार रुपियाँ बजेट विनियोजन गरेको सूचना अधिकारी भुसालले जानकारी दिनुभयो। गत आवमा महामारीजन्य रोग नियन्त्रणका लागि एक करोड १४ लाख ३० हजार बजेट विनियोजन भएकोमा ९३ लाख रुपियाँ खर्च भएको मन्त्रालयले जनाएको छ। -गोरखापत्रबाट