हेटौंडा / बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको यातायात व्यवस्था कार्यालयबाट गत आव ०७९÷०८० मा सवारी साधन करबाट ३४ करोड ८९ लाख रुपैयाँ राजस्व संकलन भएको छ । यो रकम आव ०७८÷०७९ भन्दा करीब एक करोडले कम रहेको देखिन्छ । प्रदेश सरकारको श्रम रोजगार तथा यातायात मन्त्रालय अन्तरगत पर्ने उक्त कार्यालयमा गत वर्ष राजश्व रकम घटेको तथ्याङ्ले देखाएको छ ।
आव ०७८÷०७९ मा सवारी साधन करबाट पैंतीस करोड ५२ लाख १८ हजार २ सय २८ रुपैयाँ संकलन भएको थियो भने गतवर्ष चौंतीस करोड ८९ लाख ३३ हजार ९४५ कर राजश्व संकलन भएको कार्यालयका सुचना अधिकारी एंव अधिकृत राजु अर्यालले बताउनुभयो । सवारी साधन नवीकरण र जरिवानामा आव ०७८÷०७९ मा बाह्र करोड १३ लाख ८८ हजार ४०६ रुपैयाँ संकलन गरिएकोमा गत वर्ष ११ करोड ३५ लाख ३१ हजार ५२१ रुपैयाँ संकलन गरिएको अर्यालले बताउनु भयो ।
उहाँका अनुसार यातायात क्षेत्रको आम्दानी आव ०७८÷०७९ मा नौ करोड ३ लाख १६ हजार २९० भएकोमा आव ०७९÷०८० मा भने ८ करोड ७४ लाख ५६ हजार ६६० भएको अर्यालले बताउनुभयो । यातायात कार्यालय विस्तार भएकोले पनि हेटौंडामा गतवर्ष आव ०७९÷०८० मा करिब डेढ करोड भन्दा बढी रकम कम राजश्व संकलन भएको उहाँले बताउनुभयो । उहाँले चालु आवमा पनि अझै राजश्व संकलनमा कमी आउने बताउनुभएको छ । ट्रायल सहित चितवनमा कार्यालय सञ्चालनमा आएपछि हेटौंडामा राजश्व संकलन कम हुदैं गएको कार्यालयका निमित्त प्रमुख तीर्थराज उपाध्यायले बताउनुभयो । सेवाग्राहीहरु बाढिएपछि नयाँ सवारी दर्तामा कमी, अन्य प्रदेश भन्दा करदर हाम्रो प्रदेशमा बढी भएकाले पनि होला राजश्वमा कमी आएको हो उपाध्यायले भन्नुभयो । विगतमा दैनिक दुई हजार भन्दाबढी दर्ता नवीकरणको काम गरिन्थ्यो भने अहिले त्यो संख्या वार्षिकमा पुगेको समेत उपाध्याय बताउनुहुन्छ ।
हेटौंडामा आव ०७९÷०८० मा ठुला र मझौला सवारी साधन १० वटा सरकारी र ४५६ वटा सवारी साधन दर्ता भएको छ । त्यस्तै, साना सवारी साधनमा सरकारी २१ वटा र अन्य ४७८ वटा दर्ता भएको सुचना अधिकारी अर्यालले बताउनुभयो । टेम्पो÷ईरिक्सामा २ वटा सरकारी र अन्य २३९ वटा दर्ता भएका छन् । मोटरसाइकल÷स्कुटर भने १२२ वटा सरकारी सहित २ हजार ४२३ वटा दर्ता भएको तथ्याङ्कमा देखिन्छ । नयाँ ट्याक्टर भने हेटौंडामा २ सरकारी सहित ५० वटा भएको अर्यालले बताउनुभयो ।
संघीयता आउनुभन्दा अघि नयाँ लाइसेन्स लिन वीरगन्ज जानुपर्ने बाध्यतालाई हटाई प्रदेश सरकारले हेटौंडाबाटै दिने व्यवस्था गरिएको थियो । सोही अनुरुप हेटौंडाबाट आव ०७९÷०८० मा मोटरसाइकल लाईसेन्सका लागि २५ हजार माथीले निवेदन दर्ता गराएपनि ९ हजार ९१८ जनालाई लाईसेन्स प्रदान गरिएको छ । स्कुटरका भने तीन हजार १०२ जनालाई प्रदान गरिएको छ । त्यस्तै, साना गाडीको ८४० जनालाई, टेम्पोको १५० जनालाई, ईरिक्साको १८ जनालाई, ट्याक्टरको ११९ जनालाई, जेसिबीको १३४ जनालाई, इस्काभेक्टर(मेशिन)को २४२ जनालाई नयाँ लाईसेन्स प्रदान गरिएको अर्यालले बताउनुभयो ।
कार्यालयबाट हामीले लाईसेन्स थप गर्न आउने सेवाग्राहीहरुमा मोटरसाईकलको एक हजार १७४ जना, स्कुटरको ५२ जना, साना गाडीको एक हजार ६१५ जना, टेम्पोको १९५ जना, ईरिक्साको १४ जना, ट्याक्टरको ३० जना, मिनीबसको ४६ जना, ट्रक, बस, लहरीको ५०२ जना, इस्काभेक्टर(मेशिन) को ३९ जना र जेसिबीको ३८ जनालाई लाईसेन्स थप प्रदान गरेका छौंःअर्यालले भन्नुभयो । उहाँ भन्नुहुन्छः नयाँ होस् या पुरानोमा थप गर्ने सेवाग्राही हुन निवेदनको आधारमा ट्रायल पास गर्नेहरुको संख्या पनि कमी रहेको छ ।
हाम्रो कार्यालयबाट सवारीसाधनको सबै वर्गमा सवारी साधन अनुमति पत्र नवीकरण सात हजार ६२९ जनाले गरेका छन् भने प्रतिलिपि बनाउनेको संख्या १८८ जना रहनुका साथै नवीकरण पनि प्रतिलिपि लिनेको संख्या १४७ जना रहेको अर्यालले बताउनुभयो । चितवनमा कार्यालय विस्तारले गर्दा राजश्व संकलनमा कमी आएको हो । मकवानपुरका प्रायः करदर कम रहेकाले पनि वीरगञ्ज जाने, ठुलो संख्यामा चितवनमा सवारी साधन विक्री भई नयाँ दर्ता हुने र करदर बढी रहेकोले पनि राजश्वमा कमी आएको अर्यालले बताउनुभयो । उहाँले चालु आवमा पनि अझै राजश्व कमी संकलन हुने अनुमान रहेको बताउनुभएको छ ।