सिधाखबर \ मकवानपुरगढी गाउँपालिका वडा नम्बर १ बुलबुले फुलबारीमा सोमबार सन्तानेश्वर महादेवको मुर्ति प्रतिस्थापन तथा मन्दिर भवन उद्घाटन गरिएको छ । श्रावण महिनाको अन्तिम सोमबारको अवसर पारेर मन्दिरको उद्घाटन गरिएको हो ।
बागमती प्रदेश सरकारका संस्कृति पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठले मन्दिर भवनको उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै मन्त्री श्रेष्ठले आन्तरिक तथा बाह्य पर्यटकका लागि यी यस्ता शक्तिपिठ तथा मन्दिरहरुले यस क्षेत्रलाई चिनाउने काम गर्ने बताए । स्थानीय स्तरमा पनि पर्यटन प्रवद्र्धनको प्रचुर सम्भावना बोकेकोले थप विकास गर्दै मन्दिरको प्रचारप्रसार गर्न आग्रह गरेका छन् ।
उनले मकवानपुरगढी उसै त ऐतिहासिक पर्यटकीय क्षेत्रको रुपमा रहेको छ । सोही अनुरुप पालिकाभित्र रहेका अन्य शक्तिपिठहरु जस्तै यस सन्तानेश्वर महादेव मन्दिरको विकास हुने बताए । आगामी बजेटमा पर्यटनको सम्भावना बोकेका क्षेत्रहरुमा बजेट विनियोजन गरिने समेत मन्त्री श्रेष्ठले बताएका छन् ।
स्थानीय तह बनेपछि विभिन्न चरणबद्ध रुपमा बजेट निकासा गर्दै १० लाख लगानीमा मन्दिर र वरिपरिका क्षेत्रहरुको निर्माण गरिएको वडा नम्बर १ का वडा अध्यक्ष आइतसिं लोले बताए । झण्डै पाँच वर्षमा उक्त मन्दिरको निर्माण गरिएको हो । अब निर्माण सम्पन्न भएकाले आजैबाट मन्दिरमा पुजाआजा गर्न सकिने बताएका छन् ।
भवन उद्घाटन समितिका संयोजक प्रह्लाद सापकोटाको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य सुवात सिं थिङ, महासमिति एंव वडा नम्बर ७ का अध्यक्ष सुर्य बहादुर रुम्बा, वडा १ का अध्यक्ष आइतसिं लो, नेपाली कांग्रेस गाउँपालिका सभापति राजवीर मुक्तान, कोषाध्यक्ष आकाश गोले, कार्यपालिका सदस्य फुलमाया टुप्पा, वडा सदस्य लालबहादुर लामा, सुन्तली विक, सोमलाल भ्लोन, भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष रोशन लामा लो, रानीसेरा माविका प्रअ सुन्दर सिं लो, टोलविकास तथा विभिन्न सामाजिक संस्थाका अध्यक्षहरुको उपस्थिती रहेको थियो ।