हेटौडा / लम्पी स्किन रोग नियन्त्रण तथा रोकथामका लागी बागमती प्रदेश कृषि तथा पशुपन्छी बिकाश मन्त्रालयले बिहिबार देखी सप्ताहव्यापी रुपमा खोप अभियान गर्ने भएको छ । बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रि डा.राजेन्द्रमान श्रेष्ठले प्रदेशमा पशुपालन तथा पशुजन्य उत्पादनको क्षेत्रमा गाई भैसीपालनको महत्वपुर्ण भुमिका रहेको बताउदै लम्पी स्किन रोगबाट प्रभाबित गाँई भैसीलाई बचाउन मन्त्रालयले एक हप्ते लम्पी स्किन डिजिज नियन्त्रण तथा रोकथाम अभियान गर्न लागेको बताउनु भयो । उहाँले प्रदेशमा ५० हजार लम्पी स्किन रोगका पशुहरुमा खोप लगाईने बताउनु भयो ।
खोप कार्यक्रमलाई प्रभाबकारी तवरले नियन्त्रण गर्न मन्त्रालयले स्पष्ट कार्ययोजना स्वीकृत गरी स्किन डिजिज बिरुद्धको खोप अभियान संचालन गर्न लागेको मन्त्रि श्रेष्ठले बताउनु भयो । प्रदेशमा लम्पी स्किनरोग नियन्त्रणका लागी एक हप्ते खोप अभियान उपलब्धीमुलक हुने र यसबाट रोग नियन्त्रणमा आउने उहाँले बताउनु भयो । पहिलो कुरा रोग लागेर उपाचार गर्नु भन्दा पनि रोग लाग्नै नदिन कृषकहरुले सरसफाईमा बिशेष जोड दिन समेत मन्त्रि श्रेष्ठले आग्रह गर्नु भयो । खोप अभियान सञ्चालन गरी लम्पी स्किन रोग नियन्त्रण गर्ने तथा प्रदेश भरी लम्पी स्किन न्यूनीकरणका लागी जनचेतना फैलाउने मुख्य उदेश्य रहेको मन्त्री श्रेष्ठले बताउनु भयो ।
कार्यक्रममा मन्त्रालयका सचिब डा. शरण पाण्डेले २०७९ पौष महिनामा मकवानपुरमा लम्पी स्किन देखिएको र बिस्तारै यसको प्रकोप प्रदेशका १३ जिल्लामा बिस्तार भएको तथ्याङ्क प्रस्तुत गर्नु भयो । उहाँका अनुसार बागमती प्रदेशमा २ लाख ४ हजार ९ सय ८८ पशुहरु लम्पी स्किन रोगबाट प्रभावित भएको र एक लाख दश हजार ४ सय ४० पशुहरुमा सक्रिय संक्रमित भएको बताउनु भयो । प्रदेशमा लम्पी स्किन रोगबाट ६ हजार २ सय ९१ पशुको मृत्यु भएको र एक् लाख ३२ हजार ९ सय पशुहरुमा लम्पीस्किन बिरुद्धको खोप लगाईसकेको बताउनु भयो । पाण्डेका अनुसार प्रत्येक जिल्लाहरुमा स्थानीय तहहरुको समन्वयमा भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र मार्फत खोप कार्य संचालन गर्ने तयारी मिलाईसकेको बताउनु भयो ।
पशु बिकाश अधिकृत डा.निशान्त शर्मा गेलालले प्रत्येक स्थानिय तहहरुको लागी आवश्यक्ता अनुसार स्थानीय तहको समन्वयमा भ्याक्सिनेटरहरु समेत नियुक्ती गरीसकेको बताउनु भयो । मन्त्रालयले बिहिबार देखी सुरुगर्न लागेको खोप अभियानका लागी ललितपुरमा १६ स्थानिय तहमा ६ हजार ३ सय खोपका लागी २४ जना भ्याक्सिनेटर तोकेको छ भने मकवानपुरका लागी १० स्थानिय तहमा ७ हजार खोपका लागी १९ भ्याक्सिनेटर तोकेको छ ।
यस्तै नुवाकोटमा ६ हजार खोपका लागी १७ स्थानिय तहमा १७ भ्याक्सिनेटर तोकेको छ । यस्तै धादिङ्गमा ५ हजार २ सय ५० खोपका लागी ५ स्थानिय तहमा २६ भ्याक्सिनेटर तोकेको, चित्तवनमा ७ स्थानिय तहमा ७ हजार पाँच सय खोपका लागी १४ भ्याक्सिनेटर तोकेको छ । उता दोलखामा १३ स्थानिय तहमा ४ हजार पाँच सय खोपका लागी १३ जना भ्याक्सिनेटर तोकेको छ । काभ्रेमा ६ स्थानिय तहमा ६ हजार पाँच सय खोपका लागी १२ भ्याक्सिनेटर तोकेको छ भने सिन्धुलीमा १७ स्थानिय तहमा ५ हजार पाँच सय खोपका लागी २१ जना भ्याक्सिनेटर तोकेको छ ।
यो रोगबाट सबैभन्दा बढी सिन्धुपाल्चोक जिल्लामा आठसय ९६ पशुको मृत्यु भएको र दोलखा जिल्लामा ३३ हजार ६२४ पशु प्रभावित भएको तथ्याङ्क छ । प्रदेशमा पशुको बिरामी हुनेदर १०.२७ प्रतिशत छ भने मृत्युदर ३.१ प्रतिशत रहेको र खोप कभरेज १२.०८ प्रतिशत रहेको सचिब पाण्डेले बताउनु भयो । प्रदेशमा करिब दश लाख ९९ हजार पाँच सय साठी गाई,आठ लाख ९६ हजार २ सय १३ भैंसी रहेको र बार्षिक चार लाख ५५ हजार एक सय ४१ मेट्रिक टन दुध उत्पादन रहेको गेलालले बताउनु भयो । कार्यक्रममा मन्त्रालयका सुचना अधिकारी अनुप अधिकारी लगाएत मातहतका कर्मचारीहरुको सहभागीता रहेको थियो ।