हेटौंडा / मकवानपुरको एक मात्र सरकारी अस्पताल हेटौंडा अस्पतालले सर्वसाधरणको विश्वास जित्दै आएको छ । आव २०७९/०८० मा अस्पतालबाट दुई लाख बिरामीहरुले बहिरंग (ओपिडि) सेवा लिएका छन् भने ६२ हजार ९ सय २६ जनाले आकस्मिक (इमरजेन्सी) सेवा लिएको अस्पतालका सुचना अधिकारी राजिव झाले बताउन भयो । आव २०७८/०७९ मा हेटौडा अस्पतालमा एक लाख ४४ हजार ४ सय ५४ जनाले बहिरंग (ओपिडि) सेवा र ५२ हजार ३ सय ५७ जनाले आकस्मिक (ईमरजेन्सी) सेवा लिएका थिए । यो हिसाबमा गत वर्ष सेवाग्राहीको चाप उल्लेख्य रहेको बुझ्न सकिन्छ ।
अस्पतालमा साधारण सुत्केरी हुनेको संख्या २ हजार ८ सय सात रहेको छ भने अस्पतालमा मेजर अपरेसन एक हजार ८ सय ६८ वटा र माईनर अपरेसन आठ सय ५९ वटा भएको झाले बताउनु भयो । अस्पतालमा दश हजार एक सय ८३ जना बिरामी भर्ना भएर उपचार गरेको र उपचारका क्रममा ४६ जनाले ज्यान गुमाएको झाले बताउनु भयो ।
सरकारी अस्पतालमा वीमा सेवाहुने भएकाले पनि पछिल्लो समय हेटौंडा अस्पतालमा सेवाग्राहीहरुको भीड थामिनसक्नु रहेको छ । अस्पतालबाट गत वर्ष ५ हजार ६ सय ६४ जना दाँतका बिरामीको उपचार भएको र ८ हजार ३ सय ४२ जना छाला रोगका बिरामीहरुले सेवा लिएका छन् ।
यस्तै ९ हजार ८ सय जना नाक,कान,घाँटी सम्बन्धी बिरामीहरुले सेवा लिएको झाले बताउन भयो । अस्पतालमा १८ हजार ७ सय एक जनाले स्त्रीरोग सम्बन्धी सेवा लिएका छन भने तीन सय ९८ जना मानसिक रोगीहरुले सेवा लिएका छन् । अस्पतालबाट २१ हजार ९ सय ३३ जना हाडजोर्नीको बिरामीहरुले सेवा लिएका छन् भने १६ हजार एक सय ११ जना बालरोग सेवा लिएको अस्पताल स्रोतले जनाईएको छ । अस्पतालमा दैनिक २ हजार वटा विभिन्न ल्यावटेष्ट हुने गरेको छ भने मृगौला सम्बन्धी २ हजार एक सय ७८ जनाले सेवा लिन सफल भएका छन् ।
पछिल्लो वर्ष सेवाग्राही बढ्नुमा सरकारको स्वास्थ्य वीमा कार्यक्रम लागु हुनु,अस्पतालभित्रै फार्मेसी सेवा विस्तार हुनु र हेटौंडा अस्पतालप्रति जनविश्वास बढ्नु मुख्य कारण भएको अस्पतालका निमित्त प्रमुख डा.रामचन्द्र सापकोटाले बताउनुभयो । हेटौंडा अस्पतालले टिकट र उपचारपछि औषधि लिन टोकन प्रणाली लागु गर्नु, विशेषज्ञ चिकित्सकको उपलब्धता रहनु, नयाँ उपकरण र सेवा विस्तार हुनुले पनि सेवाग्राही बढेको उहाँको भनाइ छ ।
पछिल्लो ६ वर्षको तथ्याङ्क हेर्दा हेटौंडा अस्पतालमा सेवाग्राहीको संख्या बढ्दो क्रममा रहेको छ । एक सय २५ शैयाको हेटौंडा अस्पतालमा अहिले महिला तथा प्रसुति, शल्यक्रिया, जनरल मेडिसिन, हाडजोर्नी, दाँत, नाक–कान–घाँटीलगायतका सेवा उपलब्ध छन् । प्रयोगशाला सहित भिडियो एक्सरे, फार्मेसी सेवा समेत भएका कारण मकवानपुर जिल्लाका मात्रै नभई मधेश प्रदेशका बारा, पर्सा, रौतहट, सर्लाही लगाएतका जिल्लाका विरामीहरु पनि उपचारका लागि हेटौंडा अस्पताल आउने गरेका छन् ।
पछिल्लो वर्षहरु देखी मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालको न्युनतम सेवा मापदण्ड मापनमा विगतमा भन्दा सुधार रहेको पाइएको छ । हेटौंडा अस्पतालले न्युनतम सेवा मापदण्ड मापनमा एक सय पुर्णाङ्कमा ८९ प्रतिशत अंक ल्याएको छ । प्रदेशनालयले बनाएको मापदण्ड अनुसार अस्पतालले आव २०७९÷०८० मा ८९ प्रतिशत अंक ल्याएको हो । हेटौंडा अस्पताल पुरानो भवनबाट नयाँ भवनमा उपचार सेवा सुरु गरेपछी सहज भएको सेवाग्राहीहरुले महशुस गरेका छन् । विरामीको चाप पनि निकै बढेको छ । बिरामीको चाप अनुसार पूर्वाधारका सेवा पनि विस्तार गर्दै चालु आर्थिक वर्षमा डाक्टर लगायतका जनशक्ति पनि थप गरिने तयारी थालिएको छ ।