हेटौडा \ सशस्त्र प्रहरी बल नेपाल नं १४ गण हेडक्वाटर मकवानपुरले तीन महिनाको अवधिमा साढे पाँच करोड बराबरको राजस्व संकलन गर्न सफल भएको छ भने दर्जनौ विपद्का उद्धार कार्यहरु गरेको छ । गणले अवैध सामानहरु र ३३ वटा सवारी साधन समेत पक्राउ गरेको छ । अवैध सामानहरु बोकेर आएको ३२ वटा ट्रकबाट ५ करोड २० लाख ४० हजार ७ सय ६४ रुपैयाँ राजस्व र एउटा पिकअप भ्यान सहित अवैध सामान पक्राउबाट ३४ लाख ६४ हजार ९० रुपैयाँ गरी जम्मा ५ करोड ५५ लाख चार हजार आठ सय ५४ रुपैयाँँ बराबरको अवैध सामानहरु पक्राउ गरी जरिवाना गराउन सफल भएको सशस्त्र प्रहरी बल नेपाल नं १४ गण हेडक्वाटर मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक अनिल कार्कीले बताउनु भयो ।
कार्कीका अनुसार पक्राउ गरीएका १४ वटा ट्रकलाई राजश्व अनुसन्धान विभाग हरिहरभवन काठमाण्डौमा पठाईएको,१८ वटा ट्रक र अवैध सामानहरुलाई राजश्व अनुसन्धान कार्यालय पथलैयाको जिम्मा लगाईएको, एउटा पिकअपभ्यान सहित अवैध सामानलाई वीरगंज भन्सार कार्यालय पठाईएको बताउनु भयो ।
प्रहरीले भन्सार छलि ल्याईएका २ ट्रक अवैध जुत्तालाई ११ लाख १६ हजार ८ सय ५५ रुपैयाँ जरिवाना गराएको थियो भने ३ ट्रक एडिडास सुपरस्टार जुत्तालाई ४ करोड ३७ लाख ५ हजार ५ सय ५० रुपैयाँ जरिवाना गराएको थियो । यस्तै १६ लाख २७ हजार बराबरको एक ट्रक विद्युतीय उपकरणहरु,३ लाख ८३ हजार ४ सय २९ रुपैयाँ बराबरको एक ट्रक बिटि कम्पनीको स्पिकर,एक लाख ६९ हजार ५ सय ३३ बराबरको एक ट्रक टायर,मोविल लगाएतका सामानहरु,तिन लाख ८० हजार बराबरको एक ट्रक वैल्डिग रड,लेडिज सुरुवाल, औषधी, मोटरसाईकल केमिकल,भाँडाकुडा लगाएतका सामाग्रीहरु,२२ हजार ८ सय ७४ रुपैयाँ बराबरको एक ट्रक अटो पार्टसका सामानहरु,६ लाख ९ हजार बराबरको एक ट्रक सटिङग सुटिङ कपडाहरु लगाएत बिभिन्न सामाग्रीहरु बरामद गराई जरीवाना गराएको कार्कीले बताउन भयो ।
गणले गत बैसाख ९ गतेदेखी साउन २३ गते सम्म बिभिन्न उद्धारका कार्यहरु समेत गरेको कार्कीले बताउनु भयो । कार्कीका अनुसार गणद्धारा मकवानपुरका बिभिन्न स्थानीय तहहरुमा पुगेर करीब एक दर्जन जति विपद् जोखिम न्युनिकरण,खोज तथा उद्धार,विपद् व्यवस्थापन सम्बन्धि जनचेतनामुलक कक्षा संचालन,जलवायु परिवर्तन सम्बन्धी अभिमुखीकरण लगाएतका सचेतनामुलक कार्यक्रम आयोजना गरेको बताईएको छ ।
यस्तै गत २३ गते मकवानपुरको बागमती गाँउपालिका वडा नं ५ सिक्रे दोभानमा राती परेको अविरल बर्षाको कारण भेल पहिरो आई सोही वडा बस्ने अक्कल बहादुर स्याङतानको घरसहित सात जनालाई बगाएकोमा स्थानीय जनता सहितको सशस्त्र प्रहरी बलको टोलीले एकजनाको जिवितै उद्धार गरेको र दुई जनाको शवलाई घटनास्थल देखि १३ किमि दक्षिण तर्फ बाट र एकजना बच्चाको शव हरीहरपुर गाँउपालिका बनौलीबाट खोजतलास गरी आवश्यक कानुनी प्रकृयाको लागि नेपाल प्रहरीलाई जिम्मा समेत लगाईएको थियो ।