हेटौंडा \ हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको चालु आर्थिक वर्षको बजेट १८ करोड ८२ लाख २० हजार रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षमा आम्दानी गर्ने लक्ष्य अनुसार पुँजीगत खर्च ५१ प्रतिशत, कार्यालय सञ्चालन खर्च २८ दशमलव ६६ प्रतिशत, सेवा सञ्चालन खर्च २० दशमलव ३४ प्रतिशत खर्च गर्ने लक्ष्य राखिएको छ । चालु आर्थिक वर्षका लागि विनियोजन गरेको रकम मध्यमा सबै भन्दा बढी ७० दशमलब ४१ प्रतिशत आन्तरिक आय रकम रहेको छ ।
हेटौंडामा दैनिक १ करोड ८२ लाख लिटर खानेपानी वितरण हुने गरेको हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले जनाएको छ । आज बोर्डका सदस्य इन्द्र नेपालले आर्थिक वर्ष २०७८ ७९ को आर्थिक अवस्था र आर्थिक वर्ष २०७९८० को नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै हेटौंडामा दैनिक सरदर १ करोड ८२ लाख लिटर खानेपानी वितरण हुँदै आएको बताए ।
बोर्डको कार्यालयमा भएको पत्रकार सम्मेलनमा दैनिक १ करोड ८२ लाख खानेपानी उत्पादन हुने गरेको र उत्पादन भएको खानेपानी १२ प्रतिशत चुहावट हुने गरेको जनाइएको थियो । बोर्डमा आवद्ध २२ हजार २१४ धारा रहेको र खानेपानी बाट मासिक ९० लाख ४० हजार महशुल संकलन हुने गरेको जनाइएको छ । बोर्डले हेटौंडामा दैनिक ७ देखि ८ घण्टा खानेपानी वितरण गर्दै आएको छ ।
बोर्डले आर्थिक वर्ष २०७८र७९ आय तर्फ पानी महशुल, जरिवाना, नयाँ धारा जडान, पानी परीक्षण शुल्क, बैंक व्याज, हेटौंडा उपमहानगरसंगको साझेदारीबाट प्राप्त भएको र अन्य निकाय संघ संस्थाबाट आएको र गत वर्षको राजस्व मौज्दात समेत गरेर १ अर्ब ६ करोड ४४ लाख २५ हजार ७१२ रुपैया संकलन भएको बोर्डले जनाएको छ ।
बोर्डले व्यव तर्फ कार्यालय संचालन खर्च ४ करोड ७० लाख ४९ हजार ४२ रुपैयाँ, सेवा संचालन खर्च तर्फ २ करोड ९२ लाख ६४ हजार ८२५ रुपैयाँ खर्च भएको जनाएको छ । बोर्ड आगामी वर्ष भीमफेदी स्थित कुलेखानी भैसे खोलाको पानी शुद्धिकरण गरेर वितरण गर्ने योजना रहेको जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामाले आफ्नो ५ वर्षे कार्यकाल भित्र हेटौंडाको सबै वडाहरुको टोल गाउँहरुलाई बोर्डमा सहभागी गराएर शुद्ध खानेपानी वितरण गर्ने प्रतिवद्धता व्यक्त गरिन् । उनले उपमहानगरले बोर्डमा आवद्धहरुलाई मासिक १० हजार लिटर खानेपनी निःशुल्क वितरण गरेको भन्दै करको शुल्क नबढ्ने तर सबै व्यवसायलाई करको दायरा ल्याईने तयारी गरेको समेत बताईन् ।
बोर्डका अध्यक्ष प्रताप विष्टको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा उपमहानगरका उपप्रमुख राजेश बाँनिया, बोर्डका कार्यकारी निर्देशक सुदर्शन ढकाल, वडाअध्यक्षहरु, बोर्डका कर्मचारीहरुको सहभागिता रहेको थियो ।