हेटौंडा \ बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले चालु आर्थिक वर्ष २०७९।०८० को “वार्षिक कार्ययोजना २०७९” सार्वजनिक गरेको छ । मंगलबार एक कार्यक्रम आयोजना गरी बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले वनर्षिक कार्ययोजना सार्वजनिक गरेकी छिन् ।
बागमती प्रदेश प्रहरीको जिम्मेवारी क्षेत्रमा सम्पादन गरिने कार्यहरुलाई प्रभावकारी बनाएर प्रदेशको समग्र शान्ति सुरक्षा, अपराध रोकथाम तथा अनुसन्धान लगायत प्रहरीको दायित्व निर्वाहलाई व्यवस्थीत र परिणाममुखी बनाउन वार्षिक कार्ययोजना तयार गरिएको प्रहरी नायव महानिरीक्षक बज्राचार्यले बताए ।
आर्थिक वर्ष २०७९।८० मा बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले विभिन्न १२ वटा प्राथमिकताका क्षेत्र लक्ष्यहरु निर्धारण गरी १०० वटा क्रियाकलाप रसूचकमा रही कार्य संचालन गर्ने वार्षिक कार्ययोजना २०७९ मा उल्लेख गरिएको छ ।
बज्राचार्यले नवनिर्मित कार्ययोजनाको प्रमुख लक्ष्य भनेको विगतमा कार्य सम्पादनको क्रममा देखीएका कमिकमजोरीहरुलाई सुधार गर्दै प्रदेश प्रहरीको भुमिका र जिम्मेवारीलाई जवाफदेही, पारदर्शी र व्यवसायिक बनाउनुका साथै सेवा प्रवाहलाई प्रणालीवद्ध एवं निर्देशित तवरले संचालन गरी आफ्नो जिम्मेवारी क्षेत्रलाई शान्त र सुरक्षित बनाउने रहेको बताए। कार्ययोजना संगठन संचालनको मेरुदण्ड भएको बताउँदै उनले आम नागरिकले विश्वास र भरोसा गर्न योग्य प्रहरी निर्माणमा कार्ययोजनाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन् ।
नेपाल प्रहरी संगठनको लक्ष्य प्राप्ती सामूहिक कार्यबाट मात्र सम्भव हुने बताउँदै बज्राचार्यले संवेदनशील भई तोकिएको जिम्मेवारी पुरा गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए । सम्पूर्ण प्रहरी कर्मचारीहरुले कार्ययोजना अध्ययन गरी मासिक, त्रैमासिक र अर्ध वार्षिक रुपमा चेक लिष्ट बनाई कार्य गर्नुपर्ने उनको भनाई रहेको छ ।
कार्ययोजनाको उद्देश्यमाथि प्रकाश पार्दै प्रदेश प्रहरी प्रबक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीले पहिचान गरिएका प्राथमिकताका क्षेत्रहरू र त्यसले तोकेका गतिबिधिहरू तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताए ।
यस आर्थिक वर्षमा बागमती प्रदेश प्रहरी कार्यालयले निर्धारण गरेका प्राथमिकताहरुमा शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन, अपराध अनुसन्धान तथा नियन्त्रण, ट्राफिक व्यवस्थापन एवं दुर्घटना न्यूनिकरण, मानवश्रोत एवम् प्रशासनिक व्यवस्थापन, भौतिक पूर्वाधार र अन्य स्रोत साधन व्यवस्थापन, आर्थिक अनुशासन र पार्दर्शिता, नागरिक केन्द्रित प्रहरी सेवा प्रवाहमा सुदृढीकरण मानव अधिकार संरक्षण र सम्बर्धन, विपद् व्यवस्थापन र प्रतिकार्य, आन्तरिक सुपरिवेक्षण तथा गुनासो व्यवस्थापन, कर्मचारी उत्प्रेरणा तथा कल्याणकारी कार्यक्रम संचालन र विभिन्न नविनतमररचनात्मक कार्यक्रमको संचालन रहेका छन् ।
डिजिटल चेकपोईन्ट निर्माण, सिसिटिभि जडान, हातहतियार बरामद तथा पक्राउ, घरेलु मदिरा नष्ट, संघीय निर्वाचन विशेष सुरक्षा लगायतका क्रियाकलापहरु संचालन समेत गरिने कार्यालयले जनाएको छ ।