हेटौंडा \ कृषि तथा वनविज्ञान विश्वविद्यालयमा अध्ययनरत छात्रा महिमा पौडेल सर्प पहिचान गर्न सक्ने भएकी छिन् । “पहिला मैले रङ हेरेर मात्रै सर्प पहिचान गर्थें, अहिले छाला हेरेर सर्प पहिचान गर्न सक्ने भएको हुँ । सर्पले डस्दा के गर्ने, सर्पको व्यवस्थापन कसरी गर्ने भन्नेबारे पनि ज्ञान हासिल गरिसकेको छु,” पौडेलले भनिन् ।
घर छेउकै दिदीको घटना स्मरण गर्दै उनले भनिन्, “उहाँ (दिदी) लाई राज गोमनले डसेको रहे छ । सर्पले डसेपछि उहाँहरू सुरुमा धामीझाँक्रीकहाँ जानुभयो । मलाई पनि सर्पले डसेको थियो । उहाँको घटनाले मलाई अस्पताल जानु पर्छ भन्ने ज्ञान भएकाले म बाँचेँ ।”
वनविज्ञान अध्ययन संस्थान, हेटौंडा क्याम्पसले विद्यार्थीलाई सर्प उद्धार तथा संरक्षणसम्बन्धी अभिमुखीकरण दिएको थियो । ‘सर्पका लागि मुस्कान’ नारासहितको सर्प र सर्पदंश व्यवस्थापनसम्बन्धी अभिमुखीकरणपश्चात् सहभागी विद्यार्थी सर्प संरक्षणका लागि उत्साही बनेका हुन् । अभिमुखीकरणपछि संस्थानको खेलमैदानमा गोमन र दामिन सर्पको संरक्षण र उद्धार कसरी गर्ने भन्नेबारे रेज हन्ड्स नेपालका सञ्चालक एवं सर्प उद्धारकर्ता भरतपुर–१५ का सुनिल सापकोटाले प्रशिक्षण दिएका थिए ।
क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन र पार्क रिव्रिmऐसन एन्ड वाइल्डलाइफ म्यानेजमेन्ट विभागको आयोजनामा भएको प्रशिक्षणमा ६० विद्यार्थीको सहभागिता रहेको हेटौंडा क्याम्पसका उपप्राध्यापक शैलेन्द्रकुमार यादवले जानकारी दिए । उक्त अभिमुखीकरणमा सर्पको डसाइ, सव्रिmय हुने समय, सर्पले डसेपछि गरिने प्राथमिक उपचार, सर्प चिन्ने तरिकालगायतका विषयमा विद्यार्थीलाई जानकारी गराइएको थियो ।
दस स्थानमा सर्पदंशको उपचार
बागमती प्रदेशका सात जिल्लामा सरकारी अस्पताल, छ वटा स्वास्थ्य केन्द्र र एउटा निजी अस्पताल गरी १० वटा स्वास्थ्य संस्थामा सर्पदंशको उपचार हुँदै आएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका कोल्ड चेन असिस्टेन्ट ईश्वर महराका अनुसार चितवनको भरतपुर अस्पताल, बगौडा अस्पताल माडी, सिन्धुलीको श्रीथौली प्राथमिक स्वास्थ्य केन्द्र, दुधौली स्वास्थ्य चौकी र सिन्धुली अस्पताल, काठमाडौँको वीर अस्पताल, टेकु शुक्रराज ट्रपिकल अस्पताल, ललितपुरको स्टार हस्पिटल, सिन्धुपाल्चोकको चौतारा अस्पताल, हेटौँडा अस्पताल र दोलखाको पशुपति चौलागाईं स्मृति अस्पतालमा सर्पदंशको उपचार हुने गरेको छ ।
विशेष गरेर गर्मीयाम सुरु भएसँगै असार, साउन र भदौमा सर्प जमिनबाहिर निस्कने र सर्पदंशका घटना हुने गरेको जनाउँदै प्रदेशका अन्य जिल्लामा आवश्यकता अनुसार सेवा विस्तार गर्दै लैजाने स्वास्थ्य मन्त्रालयले जनाएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामार्फत काठमाडौँ, सिन्धुपाल्चोक, दोलखा र ललितपुरमा तथा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, खोप भण्डार शाखामार्फत मकवानपुर, चितवन र सिन्धुलीमा सर्पदंशको औषधी पठाइने गरिएको छ ।
औषधी वितरण
केन्द्रका अनुसार गत आर्थिक वर्षमा सर्पदंशको उपचारमा प्रयोग हुने औषधी (एन्टी स्नेक भेनम) एक हजार ६८० भाइल विभिन्न स्वास्थ्य संस्थामा पठाइएको छ । भरतपुर अस्पतालमा ६०५ भाइल, सिन्धुली अस्पतालमा ६० भाइल, बगौडा अस्पतालमा ३० भाइल र नारायणी अस्पताल वीरगन्जमा ९८५ भाइल औषधी पठाइएको थियोे । यस्तै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट दुई हजार ३८० भाइल प्राप्त भएकामा एक हजार ६८० भाइल पठाइएको खोप भण्डार केन्द्रले जनाएको छ । सर्पदंशको औषधी उत्पादन भएको मितिले चार वर्षसम्म प्रयोग गर्न मिल्ने खोप भण्डार केन्द्रका महराले जानकारी दिए ।
नौ महिनामा ५९ जना अस्पताल भर्ना
हेटौंडा अस्पतालमा सर्पदंशको उपचारका लागि नौ महिनामा ५९ जना बिरामी भर्ना भएकामा एक जनाको मृत्यु भएको थियो । हेटौंडा अस्पतालमा गत वर्षको कात्तिकदेखि साउन मसान्तसम्ममा ३० जना पुरुष र २९ जना महिला उपचारका लागि अस्पताल आएका नर्स ईशा देवकोटाले जानकारी दिइन् । तीमध्ये असारमा सबभन्दा धेरै २३ जना सर्पको डसाइपछि उपचारका लागि आएका थिए ।
मकवानपुरको मकवानपुरगढी, मनहरी, बकैया, भीमफेदी र राक्सिराङ गाउँपालिका तथा हेटौंडा उपमहानगरपालिकाका साथै सिन्धुलीबाट सर्पले डसेका बिरामी उपचारका लागि आउने गरेका उनले बताए । “खेतीपातीको काममा जाँदा सर्पले डसेको भनेर धेरै बिरामी अस्पताल आउनुहुन्छ । हालसम्म दुई जनालाई मात्रै ‘एन्टी स्नेक भेनम’ चलाएका छौँ,” उनले भनिन् । सर्पले टोकेका बिरामीमा १६ देखि ७० वर्ष उमेर समूहका व्यक्ति धेरै रहेका अस्पतालको तथ्याङ्क छ । हेटौंडा अस्पतालका एनेस्थेसिया डा. प्रशान्त बिडारीले गोमन, करेत र पिट भाइपर हरियो सर्पले डसेका बिरामी उपचारका लागि आएका बताए ।- अनिल पराजुली, गोरखापत्र दैनिक