हेटौंडा \ नेपाल एमालेका पोलिटब्युरो सदस्य देवी ज्ञवालीले समग्र देश विकासको लागि एमालेको सरकार आवश्यक रहेको बताए । नेपाल कम्युनिष्ट पार्टी हेटौडा–६ को बिस्तारित बैठकलाई सम्वोधन गर्दै नेता ज्ञवालीले भने वर्तमान सरकारले देशको हितमा काम गर्न नसकेको हुँदा एमाले सरकार आवश्यक परेको हो ।
एमाले पार्टी मजदुर,किसान,जनजाती, पिछडिएका वर्गको उत्थान गर्ने पार्टी भएकाले एमालेको सरकारले मात्रै देशको विकास गर्न सक्ने बताए । पार्टीलाई २०८४ को निर्वाचनमा बहुमत प्राप्त गर्न सक्ने गरि कार्यकर्ताहरु जनताको माझमा जानु पर्ने बताउदै नेता ज्ञवालीले पार्टी छाडेर जाने सबैलाई आफनो मुलघर एमालेमा फर्कन आग्रह गरे । माधव नेपालले ललिता निवास प्रकरणमा नितीगत निर्णय गरेर गल्ती गरेकाले कानून बमोजिम कार्वाही हुनु पर्ने बताए ।
बैठकलाई सम्वोधन गर्दै एमाले केन्द्रीय सदस्य रामेश्वर रानाले अव पार्टीका सबै अंगहरु त्रियाशिल हुनु पर्ने बताए । बैठकमा एमाले बागमती प्रदेश कमिटी सदस्य श्रीधर पोखरेल, भोजराज ढकाल, जिल्ला अध्यक्ष एवम प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ, हेटौडा–४ का वडा अध्यक्ष एवम जिल्ला सचिव नविन सिग्देल, हेटौडा–१५ का वडा अध्यक्ष सुनिल मुक्तान, जिल्ल्ला सदस्य विष्णुप्रसाद चौलागाई लगायतको आतिथ्यता रहेको थियो ।
बैठकले पार्टीलाई गतिशिल बनाउन विभिन्न उपसमितिहरु समेत गठन गरेको छ । सामाजिक सामुदायिक संघसंस्था संयोजक बासुदेव अधिकारी, जनसंगठन समन्वय संयोजक विष्णुप्रसाद ढुङगाना, स्थानीय तह वडा संयन्त्र संयोजक विश्वराज राई, विदेशमा रहेकाहरुको तथ्याङ संकलन संयोजक लेखराज ढकाल, सामाजिक लेखा परिक्षण संयोजक श्याम प्रसाद भट्टराई, प्रचारप्रसार संयोजकमा भीमसेन पौडेललाई जिम्मेवारी दिईएको छ ।
विस्तारित बैठक नेकपा एमाले हेटौडा ६ नंं वडा कमिटिका अध्यक्ष विश्वराज राईको अध्यक्षतामा बसेको थियो ।