हेटौंडा \ गत आर्थिक वर्ष बाटै हेटौंडामा मातृ शिशु सेवा सञ्चालनका लागि तयारी थालेको हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षबाट प्रक्रिया अघि बढाएको छ । स्थानीय तहले स्वस्थ्य क्षेत्रमा सेवा प्रवाह गरी नगरवासीलाई सर्वसुलभ स्वास्थ्य सेवा उपलव्ध गराउने उद्देश्य अनुसार उपमहानगरले मंगलबार हेटौंडा अस्पताल व्यवस्थापन तथा विकास समितिसँग मातृशिशु सेवा सञ्चालनका लागि भवन निर्माण सम्झौता गरेको हो ।
चालु आर्थिक वर्षबाटै प्रभावकारी सेवा दिने लक्ष्य अनुसार उपमहानगरले अस्पतालको नयाँ भवनको माथिल्लो तल्लामा मातृशिशु कक्ष निर्माण गर्ने औपचारिक सम्झौता गरेको उपमहानगरका नगर प्रमुख मीना कुमारी लामाले बताइन् । सम्झौता अनुसार उपहानगरले अस्पताल विकास समितिलाई ८० लाख रुपियाँ दिने छ ।
तीन किस्तामा जाने रकमबाट अस्पताल व्यवस्थापनले ठेक्का मार्फत आउँदो चैत्र सम्ममा भवन निर्माण सम्पन्न गर्ने लक्ष्य सहित निर्माण कार्य अघि बढाईने समितिका अध्यक्ष राजेश प्रसाईँले बताए । उनले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मार्फत हेटौंडा अस्पताल सञ्चालन भए पश्चात स्वास्थ सेवा प्रवाहमा सुधार हुँदै गएको र सेवा लिनेहरुको संख्या अघिल्लो वर्षहरुको तुलनामा दोब्बर भन्दा बढिले स्वास्थ्य सेवा लिएको बताए ।
चालु आर्थिक वर्षमा एक तल्ला पुर्वाधार निर्माणका लागि रकम विनियोजन गरे बमोजिम हेटौंडा उपमहानगरपालिकका नगर प्रमुख मीना कुमारी लामा, उपप्रमुख राजेश बानियाँ, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौंलागाईको उपस्थितीमा हेटौंडा अस्पताल व्यवस्थापन तथा बिकास समितिका अध्यक्ष राजेश प्रशाईँ र उपमहानगरपालिकाको पुर्वाधार विकास महाशाखा प्रमुख सत्यनारायण शाह बीच सम्झौता पत्रमा हस्ताक्षर सहित आदान प्रदान गरीएको थियो ।
सम्झौता हस्तान्तरणमा हेटौंडा उपमहानगरका बिभिन्न वडाहरुका अध्यक्षहरु, अस्पतालका निमित्त मेसु डा. हरिबहादुर खड्का, विकास समितिका सदस्य उत्सव चौलागाई सहितको उपस्थिती रहेको थियो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख लामाले व्यवस्थित अस्पताल सञ्चालन गर्नसके उपचारका लागि बाहिर जिल्ला सम्म जानुपर्ने अवस्थाको अन्त्य हुने बताइन् । उनले उपमहानगरले लिएको नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार हेटौंडामा मातृशिशु (प्रसुति) अस्पताल सञ्चालन गर्न पहिलो चरणको काम सुरु गरेको बताइन् । नगर प्रमुख लामाले भनिन्ः विस्तारै उपमहानगरले बोकेको उद्देश्य र नगरको विकासका लागि काम भैरहेको छ ।
सम्झौता अनुसारको भवन तल्ला निर्माण अस्पताल विकास समितिले बोलपत्र आह्वान गरी ठेक्का मार्फत निर्माण गर्ने छ । निर्मित संरचनामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण एवम् अभ्यास कक्षको रुपमा समेत प्रयोग हुने सम्झौतामा उल्लेख गरीएको छ ।