हेटौंडा \ बागमती प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले बिनाविभागीय मन्त्रीको रुपमा रहेका मन्त्री रामकृष्ण चित्रकारलाई उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी दिइने निर्णय गरेको छ । सपथ लिएको करिब २ महिना पछि मन्त्री चित्रकारले मन्त्रालयको जिम्मेवारी पाउने भएका हुन् ।
बैठकले प्रदेश सभाको बैठक भदौ १७ गते दिउँसो १ बजे आव्हान गर्ने समेत निर्णय गरिएको सरकारका प्रवक्ता एंव आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले बताए । उनका अनुसार बागमती प्रदेश सरकार (कार्य विभाजन) नियमावली, २०८० स्वीकृत गर्ने सम्बन्धमा (मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय), “प्रदेश आन्तरिक पर्यटन काज सम्बन्धी मापदण्ड, २०८०“ स्वीकृत सम्बन्धमा (मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय), सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको वडा सङ्ख्या तथा सिमाना हेरफेरका लागि नेपाल सरकारमा पठाउने, (मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय) निर्णय गरिएको बताए ।
बैठकले प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्ने स्वीकृति सम्बन्धमा (आन्तरिक मामिला तथा कानून मन्त्रालय), “प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक” प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने सम्बन्धमा (स्वास्थ्य मन्त्रालय), “ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको लागि निःशुल्क हवाई उद्वार सेवा सम्बन्धी कार्यविधि, २०८०“ स्वीकृति सम्बन्धमा (स्वास्थ्य मन्त्रालय), प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने (पर्यटन उद्योग तथा सहकारी मन्त्रालय), प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान सम्बन्धमा (कृषि तथा पशुपन्छी विकास मन्त्रालय), प्रदेश विपद् व्यवस्थापन परिचालन कोष कार्यविधि स्वीकृत (आन्तरिक मामिला तथा कानून मन्त्रालय) र विज्ञान, प्रविधि, नवप्रवर्तन तथा विकास कोष सञ्चालन विधेयक प्रदेश सभामा पेश गर्ने स्वीकृति दिने (सामाजिक विकास मन्त्रालय) गरी १२ वटा निर्णयहरु पारित गरिएको प्रवक्ता श्रेष्ठले बताए ।