हेटौंडा \ बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रहरी सेवालाई प्रविधि मैत्री बनाउनु पर्नेमा जोड दिनु भएको छ । बुधबार मकवानपुरको हर्नामाडी स्थित ठुलोदमार प्रहरी चौकीको नवनिर्मित भवन समुद्घाटन गर्दै मुख्यमन्त्री जम्कट्टेलले सेवा प्रवाहलाई छिटो छरितो बनाउन प्रविधि मैत्री आवश्यक रहेको बताउनु भयो ।
आफु प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री भएका बेला ४१ वटा प्रहरी चौकी निर्माणका लागी बजेट विनियोजन गरेको बताउँदै मुख्यमन्त्री जम्कट्टेलले बागमती प्रदेश भित्र जिर्ण अवस्थामा रहेका सबै प्रहरी चौकी निर्माणका लागी प्रदेश सरकार लागिपरेको बताउनु भयो । उहाँले प्रदेश सरकारको देखिने कामको रुपमा प्रहरी चौकी निर्माण रहने बताउँदै व्यवस्थित र सुविधा सम्पन्न भवन भएमा मात्र प्रहरीले सेवा प्रवाह गर्न सक्ने बताउनु भयो ।
अब भन्ने सबै भवनहरु प्रविधिमैत्री हुनुपर्ने भन्दै मुख्यमन्त्री जम्कट्टेलले हेटौडा १८ डिपो चौरमा प्रहरी अस्पताल बन्ने कामको लागी प्रदेश सरकारबाट ३ करोड बजेट विनियोजन भइसकेको बताउनु भयो । उहाँले प्रहरी सेवामा थुप्रै अभाव रहेको हुदाँ पनि अभावै अभावमा शान्ति सुरक्षाको काम गरेको भन्दै प्रहरी सेवालाई प्रदेशमा समायोजन भएपछि सबै समस्याहरु समाधान हुने बताउनु भयो ।
कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले प्रहरी सेवालाई प्रदेशको मातहतमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको बताउदै यो भएपछि प्रहरी सेवामा परेका समस्याहरु समाधान हुने बताउन भयो । उहाँले यो वर्ष प्रहरी भवन निर्माणका लागी विभिन्न कारणले बजेट विनियोजन गर्न नसके पनि जीर्ण प्रहरी चौकी निर्माणका लागी बजेट नरोकिने बताउनु भयो ।
आफ्नै ४ कठ्ठा ८.५ धुर जग्गामा १८ जना जनशक्ति रहन सक्ने साढे दुई तलाको कार्यालय तथा व्यारेक भवन निर्माणका लागी २ करोड ३५ लाख ८६ हजार खर्च भएको बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाले बताउनु भयो ।
बागमती प्रदेशमा पहिलो चरणमा ४६ वटा र दोश्रो चरणमा २ वटा गरी ४८ वटा प्रहरी इकाईहरुको निर्माण सम्पन्न भई समुद्घाटन समेत भइ सकेको राणाले बताउनु भयो । कार्यक्रममा बागमती प्रदेश सदस्य प्रेमबहादुर पुलामी, आन्तरिक मामिला तथा कानून मन्त्रालय बागमती प्रदेश सचिव धु्रव गैडा मकवानपुरका प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेढाई लगाएतको सहभागीता रहेको थियो ।