विराटनगर \ सुनसरी जिल्ला प्रशासन कार्यालयले धरान उपमहानगरपालिकाभित्र शनिबारका लागि निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले शुक्रबार निषेधाज्ञा जारी गर्दै सूचना जारी गरेकी हुन् ।
‘धरान उपमहानगरपालिका क्षेत्र धार्मिक र साम्प्रदायिक साथै जनस्वास्थ्य सङ्कट तथा शान्ति सुरक्षाको संवेदनशीलतालाई समेत मध्यनजर राखी सङ्क्रामक रोग ऐन २०२० को दफा (२) तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम मिति २०८०।०५।०८ गते राति १२ बजेदेखि मिति २०८०।०५।०९ गते राति १२ बजेसम्म अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरी बाहेक सामूहिक रूपमा गरिने सामाजिक, धार्मिक, राजनैतिक सभा, भेला, जम्मा र प्रदर्शनलगायतका कुनै पनि कार्यक्रमहरू नगर्न–नगराउन धरान उपमहानगरपालिका क्षेत्र भित्रका सम्पूर्ण बडालगायत तपसिलका क्षेत्रमा समेत लागू हुने गरी निषेधादेश जारी गरिएको ब्यहोरा सम्बन्धित सम्पूर्णको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ’, उक्त सूचनामा उल्लेख छ ।
धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम बाटो बराहक्षेत्र नपा १ मा पर्ने झण्डा चोकदेखि घरानतर्फको क्षेत्र धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम दक्षिण रामधुनी नपा ६ नं. बाट बराहक्षेत्र नपा वडा नं. ३ नडाहा चोकबाट धरानतर्फको क्षेत्र, इटहरी उपमहानगरपालिका वडा नं.२० तरहरा पानीपियादेखि उत्तर धरानतर्फको क्षेत्र, धरान उपमहानगरपालिका वडा नं ५ प्रवेश गर्ने पूर्वी केराबारीबाट धरानतर्फको क्षेत्र र धनकुटा जिल्ला साँगुरीगढी गापा वडा नं. ६ भेडेटारबाट घरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयले सुनसरी जिल्लाका १२ स्थानीय तहहरूमा डेंगु रोगको सङ्क्रमण व्यापकरुपमा फैलिई १६,००० जना भन्दा बढी व्यक्तिहरू सङ्क्रमित भएका १२ जनाको मृत्युसमेत भइसकेको स्मरण पनि गराएको छ ।
‘धरान उपमहानगरपालिकाका २० वटा वडामा मात्रै १५,००० जना व्यक्तिमा सङ्क्रमण फैलिएको अवस्था छ । मिति २०५०।०४।२६ गते बसेको जिल्ला विपद् व्यवस्थापन समिति, सुनसरीको बैठकले धरान उपमहानगरपालिकालाई डेंगु सङ्क्रमण नियन्त्रणमा नआउन्जेलसम्मलाई जनस्वास्थ्य आपत्कालीन अवस्था (Public Health Emergency) क्षेत्र घोषणा गर्ने गरी सम्बन्धित निकायमा सिफारिस गरिएको छ,’ उक्त सूचनामा उल्लेख छ ।
सामाजिक सद्भाव कायम राख्न अपिल
धरानका सबै राजनीतिक दलहरूले पनि सामाजिक सद्भाव कायम गर्न र द्वन्द्वको वातावरण अन्त्य गर्न सबै पक्षलाई अपिल गरेका छन् । शुक्रबार बसेको सर्वदलीय बैठकले विगत केही दिनदेखि धरानमा देखिएको असहज परिस्थितिले सामाजिक सद्भाव, सहिष्णु वातावरण बिथोलिने आशङ्का उत्पन्न भएको भन्दै चिन्ता व्यक्त गरिएको छ ।
‘हाम्रो बहुलतायुक्त विशेषतालाई आत्मसाथ गर्दै सबै जाती, धर्म, समुदायले एक आपसको धर्म, संस्कार, संस्कृति र परम्परालाई सम्मान गर्दै सामाजिक द्वेष तथा आस्था भावनामा ठेस पुर्याउने गतिविधि नगरिदिनु हुन अनुरोध गर्दछौँ,’ धरानका १३ राजनीतिक दलले जारी गरेको संयुक्त अपिलमा भनिएको छ ।