भीमफेदी \ मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर १ सानुटारमा रहेको श्री राष्ट्रिय माध्यामिक विद्यालयको आमा भेला, छात्रवृति तथा सम्मान कार्यक्रम शुक्रबार भएको छ ।
विद्यालय व्यवस्थापक समितिका अध्यक्ष रामेश्वर थिङको सभाध्यक्ष तथा बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा आमा भेला, छात्रवृत्ति वितरण तथा सम्मान कार्यक्रम भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोक्तानले शिक्षा क्षेत्रमा प्रदेश सरकारले आवश्यक बजेट विनियोजन गरि काम गरिरहेको बताईन् । उनले छात्रवृति, विद्यालय नर्स, प्राविधिक शिक्षामा आवश्यक सहयोग गरिरहेको बताईन् । विद्यालय भवन निर्माणमा पनि सरकारले भौतिक संरचना बलियो बनाउने तर्फ लागेको बताईन् ।
कार्यक्रममा विशिष्ट अतिथि भीमफेदी गाउँपालिकाका उपाध्यक्ष संजिव श्रेष्ठ रहेका थिए । कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष सोम बहादुर स्याङ्तान, भीमफेदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमलाल महर्जन, गाउँपालिकाका शिक्षा शाखा प्रमुख प्रदीप पराजुली, स्थानीय संघ संस्थाका प्रतिनिधिहरु, शिक्षक अभिभावक संघका पदाधिकारीहरुको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा आमा भेला साथै शैक्षिक सत्र २०७९ को एसईइ परीक्षामा उतीर्ण भएका २६ जना विद्यार्थीहरुलाई सम्मान, एसईइमा विषयगत रुपमा उत्कृष्ट स्थान ल्याउन सफल सामाजिक विषयमा उत्कृष्ट हुने जिपीए ए प्लस ल्याउने २ जना विद्यार्थीलाई विषय शिक्षक जुलुम देवी बलामीको तर्फबाट नगद पाँच/पाँच हजारका दरले पुरस्कार प्रदान गरिएको थियो ।
विद्यालयको तर्फबाट बि प्लस ल्याउने ३ जनालाई नगद पुरस्कार प्रदान गरिनुका साथै विद्यालयले सामाजिक विषय अध्यापन गराउने शिक्षक जुलुम देवी बलामीलाई सम्मानपत्र प्रदान प्रदान गरेको थियो । त्यस्तै, शैक्षिक सत्र २०७९ सालको नतिजामा कक्षा १ देखि ९ बाट प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गरेका विद्यार्थीहरुलाई पुरस्कार र कक्षा १ देखि ८ सम्मका छात्राहरुलाई आधारभूत तह छात्रवृत्ति र सिमान्तकृत छात्रवृत्ति समेत प्रदान गरिएको विद्यालयका शिक्षक राधा सिंतानले बताइन् । कार्यक्रममा भेलामा सबैभन्दा पहिले उपस्थित हुने आमालाई समेत सम्मान गरिएको थियो ।